info@nawayug.com

फ्रान्ससहित तीन देशमा बमको धम्कीपछि विमानको आपत्कालीन अवतरण

काठमाडाैं। युरोपका विभिन्न देशमा बिहीबार बिहान विमानहरूलाई बम राखिएको धम्की आएपछि यात्रुवाहक विमानहरू निर्धारित गन्तव्यभन्दा फरक विमानस्थलमा अवतरण गर्न बाध्य भएका छन् । पछिल्लो घटनाले युरोपेली उड्डयन क्षेत्रमा सुरक्षा चिन्ता बढाएको छ । 

आयरल्यान्डको विमान सेवा कम्पनी एर लिङ्गसले डब्लिनबाट रोमका लागि उडेको आफ्नो उडान नम्बर ईआई ४०२ फ्रान्सको एभ्रु विमानस्थलमा सुरक्षित अवतरण गरेको जनाएको छ । बमको धम्की प्राप्त भएपछि सुरक्षाका दृष्टिले उक्त विमानको मार्ग परिवर्तन गरिएको कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएको हो । एभ्रु विमानस्थल फ्रान्सको राजधानी पेरिसबाट करिब १०० किलोमिटर पश्चिममा पर्छ । 

बेल्जियमका सञ्चारमाध्यमका अनुसार ब्रसेल्सस्थित जाभेन्टेम विमानस्थलमा आकस्मिक अवतरण गर्न बाध्य भएको अर्को विमान पोल्यान्डको विमान सेवा कम्पनी एलओटीको थियो । त्यस्तै, हेलसिन्कीबाट रोमका लागि उडिरहेको फिनएयरको विमानलाई इटालीको वायुसेनाले सुरक्षा निगरानीसहित निर्धारित गन्तव्यसम्म पुर्‍याएको घटनासँग सम्बन्धित एक स्रोतले जनाएको छ । उक्त विमानले रोममा सुरक्षित अवतरण गरेको थियो ।

बुल्गेरियाका अधिकारीहरूले पनि बमको धम्कीका कारण तीनवटा विमानले आकस्मिक अवतरण गरेको जानकारी दिएका छन् । बुल्गेरियाको प्रसारण संस्था बीटीभीका अनुसार कोपनहेगन र म्याड्रिडबाट उडेका दुई विमान राजधानी सोफियामा अवतरण गरेका थिए । बुल्गेरियाका गृहमन्त्रीले यसको पुष्टि गरेका हुन् । तेस्रो विमान भने लन्डनबाट उडेको थियो। स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त विमान प्लोभ्दिभ विमानस्थलमा अवतरण गरेको थियो । 

मंगलबार पनि सात विमान र पानीजहाजलाई बमको धम्की

युरोपमा यसअघि मंगलबार पनि कम्तीमा सातवटा उडान र एउटा समुद्री यात्रुवाहक पानीजहाजलाई बम राखिएको धम्की आएको थियो । त्यसका कारण विभिन्न युरोपेली विमानस्थलमा उडान तथा अन्य गतिविधि प्रभावित भएका थिए । यद्यपि, ती घटनामा कुनै पनि विस्फोटक उपकरण फेला परेको थिएन । 

अहिलेसम्म यी धम्कीका पछाडि कुन देश वा समूह जिम्मेवार छ भन्ने कुनै पनि सरकारले औपचारिक रूपमा बताएको छैन । तर, युरोपेली अधिकारीहरूले पछिल्लो समय रुस र इरानमाथि ‘हाइब्रिड आक्रमण’ तथा तोडफोडका गतिविधिमा संलग्न भएको आरोप लगाउँदै आएका छन् ।

हाइब्रिड आक्रमण भन्नाले साइबर हमला, गलत सूचना, तोडफोड र अन्य गैरपरम्परागत माध्यम प्रयोग गरेर अर्को देशको सुरक्षा तथा सामाजिक व्यवस्थामा अवरोध सिर्जना गर्ने गतिविधिलाई बुझिन्छ । यद्यपि, मस्को र तेहरान दुवैले आफूहरू त्यस्तो अभियानमा संलग्न रहेको आरोप अस्वीकार गर्दै आएका छन् ।

प्रतिक्रिया