काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले छठ पर्वका अवसरमा जातीय विभेद तथा छुवाछुतजन्य गतिविधि नगर्न र सबै समुदायको समान सहभागिता सुनिश्चित गर्न आग्रह गरेको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै छठ पर्वका क्रममा दलित समुदायका लागि छुट्टै छठ घाट निर्माण गर्ने वा गर्न लगाउने जस्ता विभेदकारी अभ्यास नगर्न सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको हो ।
धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भावको प्रतीकका रूपमा रहेको छठ पर्वले आपसी मेलमिलाप, बन्धुत्व र राष्ट्रिय एकता सुदृढ बनाउने विश्वास व्यक्त गर्दै मन्त्रालयले कुनै पनि जातजाति, वर्ग वा समुदायका आधारमा विभेद हुने गतिविधि नगर्न आग्रह गरेको छ ।
नेपालको संविधानको धारा १८ ले समानताको हक र धारा २४ ले छुवाछुत तथा भेदभावविरुद्धको हक सुनिश्चित गरेको उल्लेख गर्दै मन्त्रालयले जातीय भेदभाव तथा छुवाछुत ९कसुर र सजाय० ऐन २०६८ अनुसार जातीय आधारमा छुवाछुत तथा भेदभाव गर्नु दण्डनीय कसुर रहेको स्मरण गराएको छ ।
मन्त्रालयले सार्वजनिक स्थानमा प्रवेश निषेध गर्ने, जातीय आधारमा छुट्टाछुट्टै घाट निर्माण गर्ने वा कुनै समुदायलाई अलग्याउने कार्य संविधानको मर्म, समानताको सिद्धान्त र कानुनी व्यवस्था विपरीत हुने जनाएको छ ।
यस्ता विभेदकारी गतिविधि हुन नदिन स्थानीय तह, सुरक्षा निकाय, नागरिक समाज, सञ्चारकर्मी तथा सम्पूर्ण नागरिकलाई जिम्मेवार भूमिका निर्वाह गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
सबै जातजाति, वर्ग, क्षेत्र र समुदायको समान अधिकार, आत्मसम्मान तथा समावेशी सहभागिता सहित समतामूलक समाज निर्माणमा मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गर्दै सामाजिक सद्भाव, भाइचारा र समावेशी संस्कृतिको प्रवर्द्धन गर्नसमेत आग्रह गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com