info@nawayug.com

क्यानडा र अजरबैजान पठाउने आश्वासन दिएर ठगी, दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक तलबमा अजरबैजान र क्यानडा पठाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ घर भई काठमाडौं महानगरपालिका–२६ बस्ने ५६ वर्षीय पुण्यप्रसाद निरौला र काठमाडौंको तारकेश्वर नगरपालिका–१० बस्ने २० वर्षीया श्रेया श्रेष्ठ रहेका छन् ।

प्रहरीका अनुसार निरौलाले अजरबैजान पठाइदिने भन्दै एक जना पीडितबाट ३२ लाख रुपैयाँ र श्रेष्ठले क्यानडा पठाइदिने भन्दै अर्का एक पीडितबाट ३ लाख ४५ हजार रुपैयाँ लिएका थिए । रकम लिएपछि दुवै जना सम्पर्कविहीन भएको भन्दै पीडितले प्रहरीमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा प्रहरीले निरौलालाई काठमाडौं महानगरपालिका–२६ र श्रेष्ठलाई तारकेश्वर नगरपालिका–१० बाट पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया