काठमाडौं । सशस्त्र प्रहरी बलले बाढी प्रभावित क्षेत्रमा पुरिएका व्यक्तिहरूको खोजी गर्न ‘स्निफर डग’ परिचालन गरेको छ ।
“रसुवागढी भन्सार, यार्ड बाढी प्रभावित क्षेत्रमा पुरिएका व्यक्तिहरूको खोजीका लागि सशस्त्र प्रहरीको (स्निफ डग) सहितको खोजी तथा उद्धार टोली परिचालन भएको छ,” सशस्त्र प्रहरी वलले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बुधबार बिहान भोटेकोसीमा अचानक बाढी आउँदा रसुवा र नुवाकोटमा ठूलो क्षति गरेको छ ।
“नदी किनार र बाढी प्रभावित क्षेत्रहरूमा थुनिएका तथा हराइरहेका नागरिकहरूलाई लोकेट गर्न तथा बाढीको क्षति मूल्यांकन गर्न सशस्त्र प्रहरीले ड्रोन परिचालन गर्ने कार्य गरिरहेको छ,” सशस्त्र प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।
बाढीबाट प्रभावितहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्दार गर्ने कार्य द्रूत गतिमा भइरहेको सशसत्र प्रहरीले जनाएको छ ।
“बाढीमा परेका गम्भीर घाइतेहरूको तत्काल प्राथमिक उपचार गर्ने कार्य भइरहेको र आपतकालीन सडक उद्धारका लागि ‘मास क्याजुयल्टी भेकल सहितको चिकित्सा तथा उद्धार टोलीलाई बाढी प्रभावित क्षेत्रमा परिचालन गरिएको छ,” विज्ञप्तिमा भनिएको छ ।
सशस्त्र प्रहरी बलको अस्पतालमा बाढी प्रभावितहरूको सुविधाको लागि बेडहरू खाली गरिएको विज्ञप्तिमा जनाइएको छ । रसुवाभन्दा तलका तटीय क्षेत्रहरू (नुवाकोट, धादिङ, चितवन) मा रहेका सशस्त्र प्रहरीका युनिटहरूलाई विपद् उद्दारका लागि अलर्ट अवस्थामा राखिएको छ ।
नदी किनारका जोखिमयुक्त बस्तीहरूमा सशस्त्र प्रहरीका गाडी तथा गस्ती टोलीमार्फत साइरन बजाइ र माइकिङ गरी सर्वसाधारणलाई तत्काल सुरक्षित स्थानमा सर्न सूचना प्रवाह गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
नुवाकोट जिल्लाको विदुरमा अस्थायी हेल्थ क्याम्प सेवा स्थापना तथा सुचारु गर्ने कार्य भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
“सशस्त्र प्रहरी बल, नेपालका इकाईहरूमा तयारी अवस्थामा राखिएका आपतकालीन राहत तथा उद्धार सामग्रीसहितका डिजास्टर रिलिफ सिस्टम (डीआरएस) कन्टेनरहरू आवश्यकताअनुसार प्रभावित क्षेत्रमा तत्काल पुर्याउने कार्य भइरहेको छ । साथै देशका अन्य भागहरूमा रहेका डीआरएस कन्टेनरहरूलाई बाढी प्रभावित क्षेत्रतर्फ केन्द्रित र परिचालन गर्ने कार्य भइरहेको छ,” सशस्त्र प्रहरीले जनाएको छ ।
नदी किनारका जोखिमयुक्त बस्ति, मुख्य सडक खण्ड र कोरिडोरहरूमा खसेको पहिरो हटाई उद्धार तथा अत्यावश्यक यातायात सञ्चालनका लागि बाटो खुलाउने काम पनि तीव्र पारिएको सशस्त्र प्रहरीले बताएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com