info@nawayug.com

मृत फेला परे बेलायती पूर्वमन्त्री विडिकोम्ब, हत्याको आशंकामा एक युवक पक्राउ

बेलायतकी पूर्व मन्त्री तथा प्रभावशाली राजनीतिज्ञ ७८ वर्षीया एन विडिकोम्ब आफ्नै निवासमा मृत फेला पर्नुभएको छ । उहाँको हत्या भएको आशंकामा प्रहरीले २६ वर्षीय एक युवकलाई पक्राउ गरेको बीबीसीले जनाएको छ ।

डेभोन र कर्नवाल प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान भैरहेको पुष्टि गरेको छ । डेभोनको डार्टमुअर घरमा पूर्व मन्त्री विडिकोम्बलाई गम्भीर चोट लागेको अवस्थामा प्रहरीले फेला पारेको हो ।

प्रहरीले घटना आतंकवाद वा राजनीतिक रूपमा प्रेरित नभएको र थप अनुसन्धान गरिरहेको जनाएको छ । एन विडिकोम्ब बेलायती राजनीतिमा एक चर्चित नाम हो । उहाँ २३ वर्षसम्म मेडस्टोनबाट कन्जरभेटिभ पार्टीको सांसद हुनुहुन्थ्यो भने पूर्व मन्त्रीका रूपमा पनि सेवा गर्नुभएको थियो ।

तर पछिल्लो समय उहाँ ‘रिफर्म यूके’ पार्टीको प्रवक्ताको रूपमा सक्रिय हुनुहुन्थ्यो । राजनीति बाहेक सन् २०१० मा चर्चित डान्सिङ शो ‘स्ट्रिक्ली कम डान्सिङ’ मा सहभागी भएपछि उहाँले थप चर्चा बटुल्नुभएको थियो ।

हालै राजीनामा दिएका प्रधानमन्त्री कीयर स्टार्मरले विडिकोम्बको दुःखद खबरले बेलायती राजनीति स्तब्ध बनेको उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया