info@nawayug.com

पहिरो र बाढीले विभिन्न पाँच राजमार्ग अवरुद्ध

काठमाण्डौ । कालिकोटको गगन खोलामा गए राति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सौरभकुमार सिंहका अनुसार गगन खोलामा पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको छ । कार्यालयले वर्षा याममा यात्रा गर्दा सावधानी अपनाएर मात्र हिँड्न तथा रातिको समयमा यात्रा नगर्न सबैलाई सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ । 

यसैबीच बाढी र पहिरोका कारण कर्णाली सहित पाँच वटा राजमार्गका विभिन्न ठाउँमा सडक खण्ड अवरुद्ध भएका छन् । इलाम नगरपालिका–९ राजदुपालीमा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । 

ठूलो पानी परेकोले सम्भावित बाढीको जोखिम रहेका कारण प्रहरीले बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी चल्ने सडक खण्डमा गाडी चलाउन रोक लगाएको छ । 

मकवानपुरमा पहिरोका कारण भीमफेदी गाउँपालिका–५ भर्‍याडाँडामा रहेको कान्तिलोकपथ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । बागलुङमा पहिरोले नैमिनी नगरपालिका–८ बेलबगरस्थितमा रहेको कालीगण्डकी करिडोर पूर्णरुपमा अवरुद्ध भएको छ । 

जुम्लामा पहिरोले तिला गाउँपालिका–३ त्रिवेणीदेखि तातोपानी गाउँपालिका–७ ताम्तीमा सडक अवरुद्ध भएको छ । प्रहरीले यात्रा गर्नुअघि सम्बन्धित सडकको अवस्था बुझ्न आग्रह गरेको छ ।

प्रतिक्रिया