काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा विपक्षी दलले सरकारले संवेदनशील विषयमा पनि सहकार्यलाई निषेध गर्न खोजेको धारणा व्यक्त गरेका छन् ।
विपक्षी दल कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीका नेताहरूले यस्तो धारणा व्यक्त गरेको सहभागी नेताहरूले बताए ।बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेले सद्भाव र शान्ति कायमका लागि सरकारले गम्भीरता नदेखाएको भन्दै रास्वपा सभापतिलाई ध्यानाकर्षण गराएको बताए ।
यस्तो अवस्थामा सरकारले बैठक र संवाद बोलाउनुपर्नेमा त्यसलाई प्रधानमन्त्रीले बेवास्ता गरेको धारणा नेताहरूले राखेको उनले बताए । ''सरकार फेसबुकको स्ट्याटसमा मात्रै भेटिन्छ । फिल्डमा भेटिँदैन । सद्भाव र शान्तिको खोजी संवाद र सहकार्यबाट हुन्छ । सैन्य ढंगलेमात्रै समस्याको समाधान हुँदैन भनेर हामीले भनेका छौँ,'' आङदेम्बेले भने ।
यस्तै, एमाले महासचिव शंकर पोखरेलले पनि सरकारले दलीय संवाद र सहकार्यलाई निषेध गरिरहेको विषयमा ध्यानाकर्षण गराइएको बताए । ''यो संवाद सरकार स्वयंले गर्नुपर्थ्यो । विभागीय मन्त्री कम्तीमा उपस्थित हुनुपर्थ्यो । यो प्रस्तुतिबाट राज्य सञ्चालनमा सरकारको गम्भीरता कस्तो छ भन्ने देखिएको छ । सर्वदलीय बैठकबाट हामी सबै दलले संयुक्त रूपमा शान्ति र सद्भाव कायम गर्न अपिल गरेका छौँ,'' उनले भने ।
बैठकमा राप्रपाले पनि प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिबारे प्रश्न उठाएको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए । ''हामीले बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिको विषयमा प्रश्न उठायौँ । अहिलेलाई सद्भाव र शान्ति प्राथमिकता रहेकाले सामूहिक रूपमा त्यसका लागि प्रयत्न अघि बढाउने भएका छौँ,'' उनले भने ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com