काठमाण्डौं । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ, उदयपुर, ओखलढुङ्गा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोकमा बाढीको जोखिम रहेको छ । यस्तै काभ्रे, मकवानपुर, काठमाण्डौ, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, रसुवा, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), रुपन्देही, पाल्पा, बाँके र बर्दिया जिल्लामा रहेका साना नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम छ ।
अहिले कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली लगायतका प्रमुख नदी र तिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहे पनि वर्षाका कारण साना नदी तथा खोलामा बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
यस्तै भोलि र पर्सि पनि सबै प्रदेशका नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले नदी किनार, तटीय क्षेत्र तथा पहाडी भेगका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र बागमती प्रदेशको हिमाली भेग, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको पहाड र लुम्बिनी प्रदेशको तराई भेगका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । पर्सि शनिबारसम्म नै ठूलो वर्षाको सम्भावना रहेको र खोला नदीहरूमा आकस्मिक बाढी आउन सक्ने जोखिम भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com