info@nawayug.com

चीन लक्षित अमेरिकाको नयाँ प्रतिबन्ध : मानव आकारको रोबोट र पावर इन्भर्टर आयातमा रोक

अमेरिकाले चीनलाई लक्षित गरेर ह्युमनोइड (मानव आकारका) रोबोट, तथा पावर इन्भर्टरको नयाँ आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । 

अमेरिकी सङ्घीय सञ्चार आयोग (एफसीसी)ले यो प्रतिबन्ध आयात हुने नयाँ किसिमका उपकरणमा लागू हुने जनाएको छ । आयोगका अध्यक्ष ब्रेन्डन कारका अनुसार यसको उद्देश्य अमेरिकाको महत्वपूर्ण आपूर्ति शृङ्खला, साइबर सुरक्षा र ऊर्जा पूर्वाधारलाई सुरक्षित गर्नु हो ।

यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच आउँदो सेप्टेम्बरमा हुने प्रस्तावित भेटवार्ताअघि आएको र जसले दुई देशबीचको प्रविधि र व्यापारिक प्रतिस्पर्धालाई थप तीव्र बनाउने अनुमान गरिएको समाचारसंस्था एपीले जनाएको छ । विश्व ह्युमनोइड रोबोट (मानव आकारका रोबोट) बजारमा चीनको हिस्सा झण्डै ८५ प्रतिशत रहेको छ ।

अमेरिकाले यसअघि पनि चिनियाँ ड्रोन, दूरसञ्चार उपकरण, सेमिकन्डक्टर तथा उन्नत एआई प्रविधिमाथि विभिन्न प्रतिबन्ध लगाइसकेको छ । पछिल्लो निर्णयलाई पनि चीनमाथिको प्रविधि नियन्त्रण नीतिको निरन्तरता मानिएको छ । चीनले भने अमेरिकी कदमलाई संरक्षणवादी नीति भन्दै कडा विरोध गरेको छ ।

विश्लेषकहरूका अनुसार अमेरिकी प्रतिबन्धले छोटो अवधिमा अमेरिकी उत्पादकलाई मूल्य प्रतिस्पर्धामा केही राहत दिन सक्छ । तर चीनको विशाल उत्पादन क्षमता, कम लागत र सरकारी समर्थनका कारण विश्व रोबोट उद्योगमा उसको अग्रता तत्काल कमजोर हुने सम्भावना भने न्यून देखिन्छ ।

उल्टै, यो निर्णयले विश्व प्रविधि आपूर्ति शृङ्खला, कृत्रिम बुद्धिमत्ता तथा रोबोटिक्स क्षेत्रमा अमेरिका–चीनबीचको प्रतिस्पर्धालाई अझ तीव्र बनाउने संकेत दिएको छ ।

प्रतिक्रिया