काठमाडौँ । स्पेनका मिडफिल्डर मिकेल मेरिनोले विश्वकप फाइनलमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई रोक्नु आफ्नो टोलीका लागि ‘विशाल चुनौती’ हुने बताएका छन्।
शुक्रबार न्यू जर्सीको इस्ट हानोभरस्थित स्पेनको प्रशिक्षण शिविरमा सञ्चारकर्मीसँग कुरा गर्दै मेरिनोले अर्जेन्टिनाविरुद्ध खेल्नु नै थप प्रेरणादायी भएको बताए।
‘यो हाम्रो टोलीका लागि ठूलो चुनौती र अविश्वसनीय प्रेरणा हो। यसअघि नै विश्वकप जितिसकेको अर्जेन्टिनाजस्तो टोलीसँग खेल्न पाउनु फाइनललाई अझ विशेष बनाउँछ। यस्तो क्षण अनुभव गर्न पाउँदा म निकै खुसी छु,’ मेरिनोले भने।
३९ वर्षीय मेसीले यस विश्वकपमा साविक विजेता अर्जेन्टिनालाई फाइनलसम्म पुर्याउन निर्णायक भूमिका खेलेका छन्। उनले सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध २–१ को जित दिलाउने क्रममा दुई गोलका लागि अवसर सिर्जना गरेका थिए।
विश्वकपमा आठ गोलसहित संयुक्त रूपमा सर्वाधिक गोलकर्ता रहेका मेसीले अन्तिम १६ मा इजिप्टविरुद्ध पनि अर्जेन्टिनाको ऐतिहासिक पुनरागमन गराएका थिए। उक्त खेलमा अर्जेन्टिना खेल सकिन ११ मिनेट बाँकी रहँदा २–० ले पछि परेको अवस्थाबाट फर्केर ३–२ ले विजयी भएको थियो।
स्पेनका ‘सुपर सब’ मेरिनो
आर्सनलका स्टार मेरिनो पनि स्पेनलाई फाइनलसम्म पुर्याउने क्रममा महत्वपूर्ण खेलाडी बनेका छन्। उनले बेन्चबाट मैदान प्रवेश गर्दै अन्तिम १६ मा पोर्चुगलविरुद्ध र क्वाटरफाइनलमा बेल्जियमविरुद्ध निर्णायक गोल गर्दै टोलीलाई जित दिलाएका थिए।
आफ्नो भूमिकाबारे उनले भने, ‘म आफूमाथि र आफ्ना क्षमतामाथि पूर्ण विश्वास गर्छु। हरेक पटक मैदानमा उत्रँदा टोलीका लागि फरक प्रभाव पार्न सक्छु भन्ने विश्वास हुन्छ।’
तर व्यक्तिगत सफलताभन्दा टोलीको जित महत्वपूर्ण रहेको उनले जोड दिए।
‘इमान्दारीपूर्वक भन्नुपर्दा, नायक को बन्छ भन्ने कुराले खास अर्थ राख्दैन। महत्वपूर्ण कुरा टोलीले जित्नु हो। उपाधि जित्दा त्यो सुरुआती ११ खेलाडीको मात्र होइन, सम्पूर्ण टोलीको हुन्छ,’ उनले भने।
मेरिनोले १९ वर्षीय स्पेनिस स्टार लामिन यामलको प्रतिभाको पनि खुलेर प्रशंसा गरे। उनले यामलको क्षमता ‘असाधारण’ रहेको बताए।
विश्वकप फाइनलमा यामलले पहिलो पटक मेसीको सामना गर्नेछन्। बार्सिलोनाको विगत र भविष्यको प्रतीक मानिएका यी दुई खेलाडीबीचको प्रतिस्पर्धालाई पनि विशेष रूपमा हेरिएको छ।
मेरिनोले फाइनल निकै कडा र प्रतिस्पर्धात्मक हुने अनुमान गर्दै रेफ्रीले खेलको तीव्रता र फाउललाई राम्रोसँग नियन्त्रण गर्नुपर्ने बताए।
‘हामीबीच बल जति छिटो चल्छ, विपक्षीलाई फाउल गर्ने अवसर त्यति नै कम मिल्छ,’ उनले भने।
सन् २०१० मा स्पेनले पहिलो पटक विश्वकप जित्दा आफू सानो भएकाले त्यतिबेलाको धेरै स्पष्ट सम्झना नरहेको बताउँदै उनले त्यस टोलीप्रति आफूमा गहिरो सम्मान रहेको पनि उल्लेख गरे।
‘आज हामी आफ्ना देशको प्रतिनिधित्व गर्दै नयाँ पुस्ताका बालबालिकाका लागि प्रेरणाको स्रोत बन्न पाउनु साँच्चै जादुमय अनुभव हो,’ मेरिनोले भने।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com