info@nawayug.com

नयाँ मुख्यमन्त्री चयन र सरकार गठनबारे मधेसका तीन दलबीच वार्ता

काठमाडौं । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीबीच छलफल सुरु भएको छ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नेतृत्वको प्रदेश सरकारलाई एमालेले गत असोज २५ गते दिएको समर्थन फिर्ता लिएपछि तीन दल नयाँ सरकार गठनको तयारीमा जुटेका हुन्।

जनमत पार्टीका नेता तथा प्रदेशसभा सदस्य महेशप्रसाद यादवका अनुसार तीन दलबीच नयाँ सरकार गठनका विषयमा छलफल भइरहेको छ। यद्यपि, सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा भने अहिलेसम्म ठोस सहमति हुन सकेको छैन।

एमाले संसदीय दलका नेता सरोजकुमार यादवले पनि जसपा नेपाल र जनमत पार्टीका नेताहरूसँग नयाँ सरकार गठनबारे संवाद भइरहेको जानकारी दिएका छन्। चाडपर्व सकिएपछि छलफललाई निष्कर्षमा पुर्‍याउने तयारी रहेको उनले बताए।

नयाँ राजनीतिक समीकरण बनेसँगै सरकारको नेतृत्वका लागि तीनवटै दलले दाबी गरिरहेका छन्। प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको जसपा नेपालले सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने बताउँदै आएको छ।

जसपा संसदीय दलका नेता सरोजकुमार यादवका अनुसार तीनवटै दलका अध्यक्षबीच केन्द्रबाटै प्रदेश सरकारको नेतृत्वका विषयमा सहमति जुटाउने समझदारी भएको छ।

एक सय सात सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ सदस्यको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा हाल नेपाली कांग्रेसका २२, एमालेका २३, जसपा नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य छन्।

त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक जना प्रदेशसभा सदस्य रहेका छन्।

प्रदेशसभाको अंकगणितअनुसार एमाले, जसपा नेपाल र जनमत पार्टी एक ठाउँमा आएमा उनीहरूको समर्थनले सरकार गठनका लागि आवश्यक बहुमत पुग्ने देखिन्छ। तर सरकारको नेतृत्व र मन्त्रालय बाँडफाँटमा सहमति जुटेपछि मात्रै नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।

प्रतिक्रिया