एजेन्सी । अमेरिकी ब्लकचेन विश्लेषण कम्पनी टीआरएम ल्याब्सले क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सबाट भएको ६.३६ अर्ब अमेरिकी डलर बराबरको चोरीमा उत्तर कोरियाली ह्याकर समूहको संलग्नता रहेको दाबी गरेको छ। कम्पनीका अनुसार यो क्रिप्टोकरेन्सी क्षेत्रकै हालसम्मको सबैभन्दा ठूलो चोरी हो।
टीआरएम ल्याब्सले सार्वजनिक गरेको प्रतिवेदनअनुसार उक्त चोरी उत्तर कोरियाको विशेष तथा दक्ष ह्याकिङ समूह ‘ट्रेडर ट्रेटर’ले गरेको हो। ह्याकरहरूले १० वटा फरक–फरक ब्लकचेनमा रहेका बाइनान्सका वालेटबाट करिब ६.३६ अर्ब डलर बराबरको क्रिप्टो सम्पत्ति सारेका थिए। त्यसमध्ये अधिकांश रकम २० मिनेटभित्रै स्थानान्तरण गरिएको प्रतिवेदनमा उल्लेख छ।
टीआरएम ल्याब्सले अफ–चेन र अन–चेन प्रमाणका आधारमा चोरीमा उत्तर कोरियाली समूहकै संलग्नता रहेकोमा आफूहरू विश्वस्त रहेको जनाएको छ।
यसअघि सन् २०२५ मा बाइबिटबाट १.५ अर्ब डलर बराबरको क्रिप्टोकरेन्सी चोरी भएको थियो। उक्त घटना यसअघि क्रिप्टो क्षेत्रकै सबैभन्दा ठूलो चोरीका रूपमा रहेको थियो।
बाइनान्सले प्रारम्भिक अनुसन्धानका आधारमा एक डेभअप्स इन्जिनियरको ल्यापटप ह्याक भएपछि ह्याकरहरूले आफ्नो प्रणालीमा अनधिकृत पहुँच बनाएको जनाएको छ। यद्यपि, कम्पनीले वालेटको प्राइभेट की भने चुहावट नभएको दाबी गरेको छ।
चोरी भएको रकममध्ये हालसम्म करिब ३ अर्ब डलर बराबरको क्रिप्टो सम्पत्ति रोक्का गरिएको बाइनान्सले जनाएको छ। कम्पनीले ग्राहकलाई कुनै आर्थिक नोक्सानी हुन नदिने प्रतिबद्धता जनाउँदै आवश्यक परे आफ्नो आपतकालीन कोष र कम्पनीको आफ्नै रकमबाट क्षतिपूर्ति दिने बताएको छ। घटनाबारे सुरक्षा निकायहरूसँग मिलेर अनुसन्धान भइरहेको पनि कम्पनीले जनाएको छ।
टीआरएम ल्याब्सका अनुसार ह्याकरहरूले इथेरियम ब्लकचेनमा ‘ईआईपी ७७०२’ कोड प्रयोग गरी पहिले नै डिजिटल हस्ताक्षर जुटाएका थिए। त्यसपछि बाइनान्सको ‘हट वालेट’ आफ्नो नियन्त्रणमा लिएर रकम स्थानान्तरण गरिएको थियो। सोही समयमा अन्य नौवटा ब्लकचेनबाट समेत सामान्य हस्ताक्षरयुक्त कारोबारमार्फत रकम ह्याकरहरूको खातामा सारिएको प्रतिवेदनमा उल्लेख छ।
चोरी सार्वजनिक भएलगत्तै टेथर, सर्कल, रिपललगायतका निकायले करिब २.७ अर्ब डलर बराबरको क्रिप्टो सम्पत्ति रोक्का गरेका थिए। तर, उक्त सम्पत्ति रोक्का हुनुअघि नै ह्याकरहरूले तीव्र गतिमा युएसडीटी बिक्री गरी इथेरियम र बिटक्वाइनमा रूपान्तरण गरिसकेको टीआरएम ल्याब्सले जनाएको छ।
प्रतिवेदनअनुसार हाल ह्याकरहरूको नियन्त्रणमा रोक्का गर्न कठिन हुने गरी चार लाख २० हजारभन्दा बढी इथर र १८ हजार २७० बिटक्वाइन पुगेका छन्।
टीआरएम ल्याब्सले चोरीको शैली यसअघि उत्तर कोरियाली ह्याकर समूहले गरेका अन्य ठूला क्रिप्टो आक्रमणसँग मिल्दोजुल्दो रहेको जनाएको छ। सन् २०२५ को बाइबिट ह्याक र सन् २०२६ अप्रिलको केल्पडिएओ ह्याकमा पनि यस्तै तरिका अपनाइएको प्रतिवेदनमा उल्लेख छ।
घटनाभन्दा धेरै अघिदेखि योजना बनाउने, टोर्नाडो क्यासमार्फत रकम जुटाउने, अग्रिम रूपमा डिजिटल हस्ताक्षर संकलन गर्ने, एकैपटक ठूलो रकम चोरी गर्ने र त्यसपछि विभिन्न प्लेटफर्ममार्फत क्रिप्टो सम्पत्ति रूपान्तरण गरी लुकाउने शैलीलाई उत्तर कोरियाली ह्याकर समूहको कार्यपद्धतिका रूपमा टीआरएम ल्याब्सले व्याख्या गरेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com