info@nawayug.com

खुलामञ्चमै महाधिवेशन गर्ने देउवा समूहको तयारी

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको समानान्तर महाधिवेशन काठमाडौंको खुलामञ्चमा गर्ने भएको छ ।

महाधिवेशनका लागि काठमाडौं महानगरपालिकासँग खुलामञ्च, राष्ट्रिय सभागृह र भृकुटीमण्डपको बगैँचा प्रयोग गर्न अनुमति मागिएको थियो । महाधिवेशन आयोजक समितिका संयोजक डा। शशांक कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार ती स्थान उपलब्ध गराउन महानगरपालिकामा पत्राचार गरिएको हो ।

तिवारीका अनुसार महाधिवेशनका लागि स्थान माग गर्दै लेखिएको पत्र लिएर सम्पर्क कार्यालय चुनदेवीका कर्मचारी अमृत कार्की बिहीबार महानगरपालिका कार्यालय पुगेका थिए । देउवा पक्षको निर्वाचन समितिका संयोजक अधिवक्ता एगराज पोखरेलले महानगरपालिकाले महाधिवेशनका लागि अनुमति दिएको जानकारी दिए ।

यसअघि कांग्रेस संस्थापन पक्षले पनि १५औँ महाधिवेशन खुलामञ्चमा आयोजना गरेको थियो । त्यसबेला नयाँ कार्यसमिति चयनका लागि मतदान राष्ट्रिय सभागृहमा गरिएको थियो भने खानाको व्यवस्था भृकुटीमण्डपमा मिलाइएको थियो ।

देउवा पक्षले पनि महाधिवेशनको उद्घाटन र बन्दसत्र खुलामञ्चमा गर्ने तयारी गरेको छ । मतदानका लागि राष्ट्रिय सभागृह र खानाको व्यवस्थापनका लागि भृकुटीमण्डपको बगैँचा प्रयोग गरिने नेता डा। प्रकाशशरण महतले जानकारी दिए ।

समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने मिति तय गरेको छ । अहिले प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन भइरहेका छन् । महाधिवेशनमा ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने समूहका नेताहरूको भनाइ छ ।

प्रतिक्रिया