काठमाण्डाै । स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा आज देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवाबाहेकका अन्य स्वास्थ्य सेवाहरू प्रभावित भएका छन् ।
नेपाल चिकित्सक सङ्घले दोषीमाथि कानूनी कारबाहीको माग गर्दै बहिरङ्ग (ओपीडी) लगायतका नियमित सेवा बन्द गरेपछि हजारौँ बिरामी उपचार सेवाबाट वञ्चित भएका छन् ।
चिकित्सक सङ्घले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटनामा कडा कारबाही नभएसम्म आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने चेतावनी दिएको छ ।
गएकाे शनिवार नारायणी अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा. प्रमोद रामसहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो । आक्रमणबाट डा. रामको टाउकोमा गम्भीर चोट लागेको र अहिले उहाँको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको सङ्घले जनाएको छ ।
याे घटनापछि दोषीलाई पक्राउ गरी कानूनअनुसार कारबाही गर्न माग गर्दै चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन् ।
यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह गरेको छ । मन्त्रालयले चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा भएका कुटपिट तथा दुर्व्यवहारका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ ।
आज चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिकबाहेकका सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्ति निकालेर स्वास्थ्य सेवाको संवेदनशीलता बुझ्न र नागरिकको उपचार सेवामा कुनै अवरोध नगर्न अपील गर्नुभएको हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com