न्युयोर्क । संयुक्त राष्ट्रसंघको महासभाका सिलसिलामा परराष्ट्रमन्त्री शिशिर खनालले अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री तथा एसिया सोसाइटीका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) केभिन रुडसँग अन्तरंग संवाद गरे । तीन दिनअघि भएको उक्त संवाद अहिले चर्चामा आएको छ ।
संवादका दौरान भगवान बुद्धको विषयमा केहीबेर चर्चा भएको थियो । केभिनले भगवान गौतम बुद्ध वर्तमान नेपालको भूभागमा जन्मिएको विषयमा आफूलाई थाहा नभएको बताएका छन् ।
एसिया सोसाइटीद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा सम्बोधनपछि सो छलफल भएको थियो । पूर्वप्रधानमन्त्री रुडले नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग बुद्ध र नेपालको धार्मिक परम्पराबारे जिज्ञासा राख्दै यस्तो टिप्पणी गरेका हुन् ।
खनालको मन्तव्य सुनेपछि पूर्वप्रधानमन्त्री रुडले भनेका थिए, ‘भगवान बुद्ध हालको नेपालमा जन्मिनुभएको थियो भन्ने कुरा मलाई थाहा थिएन । मैले सधैं नेपाललाई बुद्धको जन्मभन्दा पनि पुरानो अति प्राचीन वैदिक परम्परासँग मात्र जोडेर हेर्ने गरेको थिएँ ।’
उनले वर्तमान नेपालमा बौद्ध धर्मावलम्बीहरूको अनुपात कति छ भनी प्रश्नसमेत गरेका थिए ?
जवाफमा मन्त्री खनालले नेपालमा करिब २० देखि २५ प्रतिशत बौद्ध धर्मावलम्बी रहेको जानकारी दिँदै नेपालको धार्मिक सहअस्तित्व विश्वमै अद्वितीय रहेको स्पष्ट पारे ।
‘नेपाल मुख्यरूपमा हिन्दु-वैदिक परम्परा भएको देश भए पनि यहाँको मौलिक विशेषता के हो भने, हिन्दु समुदाय र हरेक परिवारभित्र पनि बुद्धलाई उत्तिकै श्रद्धाका साथ भगवानकै रूपमा पूजा गरिन्छ,’ मन्त्री खनालले भने ।
खनालले पश्चिमा मुलुकहरूमा हिन्दु र बौद्ध धर्मलाई नितान्त फरक-फरक धर्मका रूपमा बुझ्ने गरिए पनि नेपालको व्यावहारिक जीवनमा यी दुईबीच कुनै ठूलो भिन्नता नदेखिने र सुन्दर सहअस्तित्व रहेको बताए ।
छलफलका क्रममा रुडले नेपालमा कुन सम्प्रदायको बुद्ध धर्म मानिन्छ भनी सोधेको प्रश्नमा मन्त्री खनालले नेपालमा थेरवादको अभ्याससँगै महायान बुद्ध धर्मको ऐतिहासिक भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले काठमाडौं उपत्यकाबाट सुरु भएको महायान बुद्ध परम्परा तिब्बती पठार हुँदै एसियाका अन्य भागसम्म फैलिएको ऐतिहासिक तथ्य प्रस्तुत गरेका थिए ।
राष्ट्रसंघीय महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलसहित न्युयोर्क पुगेका मन्त्री खनालले एसिया सोसाइटीको मञ्चबाट नेपालको भू-राजनीति, आर्थिक सम्भावना र विदेश नीतिका साथै नेपालको ऐतिहासिक तथा सांस्कृतिक पहिचानबारे अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त पारेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com