विराटनगर । नेपाली कांग्रेसको पालिकादेखि केन्द्रीय कमिटी सम्म चुनिन क्षेत्रीय प्रतिनिधि हुन अनिवार्य भएपछि क्षेत्रीय प्रतिनिधि चयनमा रस्साकस्सी भएको छ ।
नेपाली कांग्रेसको विधानले केन्द्रीय सभापति सम्मले क्षेत्रीय प्रतिनिधि अनिवार्य रूपमा चुनिनु पर्ने व्यवस्था गरेपछि क्षेत्रीय प्रतिनिधि चयनमा नेता तथा कार्यकर्ताहरूका बिचमा रस्साकस्सी चलेको हो । नेपाली कांग्रेसको १५ औ महाधिवेशन अन्तरत आज वडा कमिटीहरूको अधिवेशन चलिरहेका छ ।
देउवा शेखर पक्षका केही नेता तथा कार्यकर्ताहरू ‘कुलिङ पिरियड’ भन्दै वडा अधिवेशनमा सहभागी भएका छैनन् ।
अधिकांश नेता तथा कार्यकर्ताहरू भने वडा अधिवेशनमा केन्द्रित भएका छन् । वडा अधिवेशनले क्षत्रिय प्रतिनिधिको छनौट गर्ने काँग्रेसको विधानले व्यवस्था गरेको छ । सो व्यवस्था अनुसार माथिल्लो तहको नेतृत्वमा पुग्न काँग्रेसका नेता तथा कार्यकर्ताहरू वडा अधिवेशनमा होमिएका छन् ।
विराटनगर महानगरपालिकाका सचिव तेजेन्द्र भट्टराईले महानगरका अधिकांश वडामा अधिवेशन जारी रहेको बताए । उनले २० वटा वडा मध्ये केही वडामा हिजै अधिवेशन सम्पन्न भई सकेको र वडाको पदाधिकारी र क्षेत्रीय प्रतिनिधि छनौट भइसकेका बताए ।
उनले भने, ‘बेलुका सम्ममा सबै वडाको अधिवेशन सम्पन्न भई सक्छ । विराटनगर महानगरपालिका काँग्रेसका नेता डा. शेखर कोइरालाको क्षेत्र हो ।’
उनी मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बनेका थिए । उनी सहित उनी निकट केही नेताहरूले एकताको महधिवेशनका लागि भन्दै जारी अधिवेशन रोक्न माग राखेका थिए ।
तर अधिकांश नेता तथा कार्यकर्ताहरू भने अधिवेशनमा होमिएका छन् । अधिवेशनमा क्षेत्रीय प्रतिनिधि बन्न चाहनेको सङ्ख्या अधिक भएपछि क्षेत्रीय प्रतिनिधि छनौटमा सकस भएको छ ।
भट्टराईले भने, ‘क्षेत्रीय प्रतिनिधि बन्न चाहनेको क्रियाशील सदस्यहरूको सङ्ख्या अधिक भएकाले मिलाउने काम भइरहेको छ ।’ यो अधिवेशनमा युवाहरूले समेत क्षेत्रीय प्रतिनिधिमा दाबी गरेका छन् ।
नेपाली काँग्रेस कोशीका उप सभापति रमेशजंग रायमाझीले सर्व सम्मत नेतृत्व र क्षेत्रीय प्रतिनिधि छनौट गर्ने प्रयास जारी रहेको बताए ।
उनले देश भरमा हिजो सम्म २९ सय वडाको अधिवेशन सम्पन्न भएको बताए । उनले आज दिनभरिमा ३ हजार हाराहारी वडाको अधिवेशन सम्पन्न हुने बताए । उनले भने, क्लस्टरहरु धेरै भएकाले कुन क्लस्टरमा कसलाई क्षेत्रीय प्रतिनिधि पठाउने भन्ने विषयमा छलफल गर्नु पर्ने भएकाले समय लागेको छ । हामी भोली सम्ममा देशै भरका सबै वडाहरूको अधिवेशन र क्षेत्रीय प्रतिनिधि छनौट गरिसक्छौ ।
यसरी हुन्छ क्षेत्रीय प्रतिनिधि छनौट
१५० जनासम्म क्रियाशील सदस्य भएको वडाबाट विधानले २३ जना क्षेत्रीय प्रतिनिधि चयन हुने व्यवस्था छ। जसमा ३ जना महिला, ५ जना खुला, १ जना पेसागत तथा विषयगत क्षेत्रबाट, १ जना महिला युवा, २ जना खुला युवा, ६ जना समानुपातिक ,१ जना अपाङ्गता भएका व्यक्ति, १ जना दलित क्षेत्रीय प्रतिनिधिमा छनौट हुन्छन् ।
यस्तै २ जना जनजाति, आदिवासी, पिछडिएको क्षेत्र तथा अन्य समूहबाट र १ जना श्रमिक प्रतिनिधि रहने विधानले व्यवस्था गरेको छ ।
यसैगरी १५० भन्दा क्रियाशील भएको वडामा प्रत्येक १०० क्रियाशील सदस्य पुग्दा प्रतिनिधिको सङ्ख्या थपिँदै जाने विधानको व्यवस्था रहेको छ ।
यसैगरी २५० क्रियाशील रहेका वडामा ३२ जना, ३५० जना क्रियाशील रहेको वडामा ४१ जना, ४५० सदस्यसम्म क्रियाशील रहेको वडामा ५० जना, ५५० सदस्यसम्म- ५९ जना, ६५० सदस्यसम्म- ६८ जना, र ७५० सदस्यसम्म रहेको वडामा ७५ जना क्षेत्रीय प्रतिनिधि छनौट हुनेछन् । यसरी छनौट भएका क्षेत्रीय प्रतिनिधिले पालिका, जिल्लाका कार्यसमिति चयन गर्ने छन् ।
यस्तै क्षेत्रीय प्रतिनिधिबाटै प्रदेश क्षेत्रीय समिति, प्रतिनिधि सभा क्षेत्रीय समिति, प्रदेश अधिवेशन प्रतिनिधि र महाधिवेशन प्रतिनिधि छनौट गर्ने छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com