info@nawayug.com

काठमाडौं प्रहरीको कारबाही : २४ घण्टाभित्र ७९ जना नियन्त्रणमा

काठमाडौं । काठमाडौं प्रहरीले सञ्चालन गरेको स्वीप अपरेशन अन्तर्गत पछिल्लो २४ घण्टामा ७९ जना पक्राउ परेका छन् । उपत्यकामा शान्ति सुरक्षा कायम गर्ने र अपराध नियन्त्रण गर्ने उद्देश्यले काठमाडौं प्रहरीले स्विप अपरेशन सञ्चालन गर्दै आएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ६७  जना पुरुष र १२ जना महिला पक्राउ परेका हुन् । सार्वजनिक सेवा प्रवाह हुने स्थान, सार्वजनिक स्थल र यातायातका साधनहरूमा सेवाग्राही तथा सर्वसाधारणमाथि हुने हातपात, हुलहुज्जत, दुर्व्यवहार बिरुद्ध निगरानी बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दान बहादुर थापाले  बताए ।

प्रहरीले चोरी, लुटपाट तथा बिचौलिया र गुण्डागर्दी जस्ता आपराधिक क्रियाकलाप रोक्न पनि निगरानी गर्दै आएको छ । 

स्वीप अपरेशनका अतिरिक्त प्रहरीले अदालतबाट दोषी ठहर भई फरार रहेका व्यक्तिहरू तथा हाल चलिरहेका मुद्दाका फरार प्रतिवादीहरूलाई पनि पक्राउ गरेको छ।

अदालतबाट सजाय तोकिएका ९ जना पक्राउ परेका छन् । उनीहरूबाट ३ लाख ६८ हजार १ सय रुपैयाँ जरिवाना असुल हुनुका साथै ५ महिना कैद भुक्तान गर्नुपर्ने अवस्था देखिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा चालु मुद्दामा फरार ८ जनालाई पक्राउ गरिएको एसपी थापाले जानकारी दिए । त्यस्तै जेनजी आन्दोलन हुँदा गतवर्ष भदौ २४ मा फरार भएका १ जना कैदीबन्दीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया