रुपन्देही । पाल्पाको तिनाउ गाउँपालिका–६ खहरेमा दाउरा प्रहार गरी एक जनाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय नन्दलाल बजगाईँ रहेका छन् । उनको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय ४० वर्षीय नारायण लम्तरीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार कात्तिक ६ गते साँझ करिब ६ बजे बजगाईँ र लम्तरीबीच वादविवाद भएपछि झैझगडा भएको थियो । सोही क्रममा लम्तरीले दाउरासमेत प्रयोग गरी बजगाईँको टाउकोलगायत शरीरका विभिन्न भागमा पटक-पटक प्रहार गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका बजगाईँलाई उद्धार गरी उपचारका लागि पाल्पा अस्पताल तानसेन लगिएको थियो ।
उपचारका क्रममा साँझ करिब साढे ८ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । घटनापछि फरार भएका लम्तरीविरुद्ध प्रहरीले कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी खोजी सुरु गरेको थियो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको संयुक्त प्रहरी टोलीले मंसिर ७ गते रैनादेवी छहरा गाउँपालिका-४ छहराबाट उनलाई पक्राउ गरेको हो ।पक्राउ परेका लम्तरीलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com