info@nawayug.com

बागमती प्रदेश सरकारले गर्‍यो १४२ शाखा अधिकृतको सरुवा

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेशका १४२ वरिष्ठ शाखा अधिकृत तथा शाखा अधिकृतहरूको एकै साथ सरुवा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश प्रशासन सेवा, सामान्य प्रशासन समूह अन्तर्गतका १४२ जना (सातौँ/आठौँ तहका) शाखा अधिकृतहरूको एकै पटक सरुवा तथा पदस्थापन गरेको हो ।

कार्यालयको कात्तिक १८ गतेको निर्णय अनुसार प्रदेश मन्त्रालयहरू तथा मातहतका विभिन्न निकायहरूमा कार्यरत अधिकृतहरूलाई जिम्मेवारी तोकेर विभिन्न मन्त्रालय, निर्देशनालय, आयोग तथा कार्यालयहरूमा पदस्थापन गरिएको हो । जसअनुसार कर्मचारीहरूलाई मुख्यतया प्रदेशका प्रशासनिक तथा विकासे मन्त्रालयहरू र अन्य संवैधानिक/स्वायत्त निकायहरूमा खटाइएको छ ।

सबैभन्दा धेरै सङ्ख्यामा अधिकृतहरूलाई उद्योग, पर्यटन, श्रम तथा रोजगार मन्त्रालय (उद्योग, वाणिज्य, पर्यटन तथा यातायात क्षेत्र) मा पदस्थापन गरिएको छ भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रशासनिक समन्वय तथा अनुगमनका लागि थुप्रै शाखा अधिकृतहरूलाई राखिएको छ ।

आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको शान्ति सुरक्षा, कानुन निर्माण तथा सहकारी प्रशासन हेर्ने गरी अधिकृतहरूको पदस्थापन गरिएको छ भने कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको वन, वातावरण तथा कृषि–पशुपन्छी क्षेत्र व्यवस्थापनका लागि अधिकृतहरू खटाइएको छ ।

प्रदेश लोकसेवा आयोग (बागमती प्रदेश), बागमती प्रदेश सभा सचिवालय, प्रदेश नीति तथा योजना आयोग (हेटौँडा), प्रदेश सुशासन केन्द्र (ललितपुर) तथा प्रदेश किताब खानामा समेत अधिकृतहरूको पदस्थापन गरिएको छ ।

सबैभन्दा बढी उद्योग, पर्यटन, श्रम तथा रोजगार मन्त्रालय र मातहतका कार्यालयहरूमा ७९ जना अधिकृतहरू पदस्थापन भएका छन् भने सबैभन्दा कम भौतिक पूर्वाधार विकास मन्त्रालयमा १ जना अधिकृत पदस्थापन भएका छन् ।

प्रतिक्रिया