काठमाडौं । मध्यपूर्वमा जारी क्षेत्रीय द्वन्द्वका कारण साउदी अरबमा आयोजना हुने एसियन कप फुटबल २०२७ को मिति परिवर्तन गरिएको छ ।
एसियाली फुटबल महासंघ (एएफसी)ले प्रतियोगिता जनवरीको सट्टा डिसेम्बरबाट सुरु गर्ने निर्णय गरेको हो ।
यसअघि सन् २०२७ जनवरी ७ देखि साउदी अरबको रियादमा सुरु हुने तय भएको २४ टोली सहभागी प्रतियोगिता अब डिसेम्बर २३ देखि सुरु हुनेछ । एएफसीले मंगलबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरेको हो ।
नयाँ तालिकाअनुसार प्रतियोगिता सन् २०२७ डिसेम्बर २३ देखि सन् २०२८ जनवरी २१ सम्म सञ्चालन हुनेछ ।
एएफसीले प्रतियोगिताको स्थानीय आयोजक समिति (एलओसी) र साउदी अरब फुटबल महासंघ (एसएएफएफ)सँग व्यापक छलफल तथा परामर्श गरेपछि मिति परिवर्तन गर्ने निर्णय गरेको जनाएको छ ।
‘क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमका कारण उत्पन्न असाधारण परिस्थितिलाई ध्यानमा राख्दै प्रतियोगिताको आयोजक समितिले मिति परिवर्तन गर्ने निर्णय गरेको हो । यसले प्रतियोगिता सञ्चालनमा उल्लेख्य प्राविधिक तथा व्यवस्थापकीय जटिलता र यात्रामा अवरोध सिर्जना गरेको छ,’ एएफसीको विज्ञप्तिमा भनिएको छ ।
गत सेप्टेम्बरदेखि यमनका हुथी विद्रोहीले साउदी अरबमाथि पटक–पटक आक्रमण गर्दै आएका छन् । राजधानी रियादसहित विभिन्न सहरलाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण भएका छन् ।
गत शुक्रबार साउदी नेतृत्वको यमन गठबन्धनले साउदी अरबको मक्का क्षेत्रमा प्रहार गरिएको हुथी विद्रोहीको ड्रोन आक्रमणलाई बीचमै रोकेर नष्ट गरेको जनाएको थियो । यसअघि पश्चिमी साउदी अरबलाई लक्षित गरी प्रहार गरिएको क्षेप्यास्त्र पनि खसालिएको खबर सार्वजनिक भएको थियो ।
रियाद समर्थित यमन सरकार र इरान समर्थित हुथी विद्रोहीबीचको द्वन्द्व थप चर्किंदै गएको छ ।
क्षेत्रीय सुरक्षा अवस्थालाई लिएर एसियन कपमा सहभागी हुने विभिन्न देशले चिन्ता व्यक्त गरेपछि प्रतियोगिता निर्धारित समयमै सञ्चालन हुने वा नहुने विषयमा अन्योल उत्पन्न भएको थियो ।
एएफसीले निर्धारित तालिकाअनुसार प्रतियोगिता आयोजना गर्न असाधारण चुनौतीहरू सिर्जना भएको भन्दै सहभागी टोली, पदाधिकारी, दर्शक तथा अन्य सरोकारवालाको हितलाई ध्यानमा राखेर मिति परिवर्तन गरिएको जनाएको छ ।
प्रतियोगिताको नयाँ मितिलाई स्वीकृतिका लागि विश्व फुटबलको सर्वोच्च निकाय फिफासमक्ष पेस गरिने पनि एएफसीले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com