काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले न्यायपालिकासहित राज्यका प्रमुख संस्थाहरूको स्वतन्त्रता र विश्वसनीयतामाथि प्रश्न उठ्ने अवस्था सिर्जना हुनु मुलुकका लागि गम्भीर चिन्ताको विषय भएको बताएका छन्।
पछिल्लो समय न्यायपालिकासहित राज्यका केही प्रमुख संस्थाहरू विवादमा तानिएको विषयप्रति चासो व्यक्त गर्दै महरले कुनै व्यक्ति वा समूहको स्वार्थका लागि सिङ्गो संस्थालाई बदनाम गर्ने गतिविधि स्वीकार्य नहुने बताएका हुन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पछिल्ला केही दिनयता विशेष सेटिङमार्फत न्यायपालिकासहित राज्यका प्रमुख संस्थाहरू विवादमा मुछिएको भन्ने समाचारले गम्भीर प्रश्न उठाएको उल्लेख गरेका छन्।
“हाम्रा राष्ट्रिय संस्थाहरू कमजोर हुँदै गएको र राज्यको समग्र शक्ति खुम्चिँदै गएको अनुभूति भइरहेको छ। यस्तो अवस्थामा राष्ट्रिय शक्ति पतन (National Power Collapse) को जोखिमबारे गम्भीर बहस र सचेतना आवश्यक छ,” महरले भनेका छन्।
उनले नेपाली कांग्रेस कानुनी राज्य र विधिको शासनमा विश्वास गर्ने पार्टी भएको उल्लेख गर्दै स्वतन्त्र न्यायपालिका लोकतन्त्रको प्रमुख आधारस्तम्भ रहेको बताएका छन्।
न्यायपालिकाको स्वतन्त्रतामाथि कुनै पनि प्रकारको हस्तक्षेप वा प्रहार स्वीकार्य नहुने उनको भनाइ छ।
“कुनै व्यक्ति वा प्रवृत्तिको स्वार्थका लागि सिङ्गो न्यायपालिकालाई बदनाम गर्ने चलखेल गरियो भने त्यसले राष्ट्रिय शक्तिलाई कमजोर पार्दै अराजकता र षड्यन्त्रलाई नै बल पुर्याउनेछ,” उनले उल्लेख गरेका छन्।
यद्यपि, न्यायपालिकासँग जोडिएर सार्वजनिक भएका गम्भीर विषयलाई बेवास्ता गर्न नहुने भन्दै महरले निष्पक्ष छानबिन र आवश्यक कानुनी कारबाहीमा जोड दिएका छन्।
उनले संस्थाको स्वतन्त्रता जोगाउने नाममा गलत गतिविधिलाई संरक्षण गर्न नहुने र कुनै व्यक्तिमाथि उठेका प्रश्नका आधारमा सिङ्गो संस्थाको विश्वसनीयता कमजोर पार्न पनि नहुने आशय व्यक्त गरेका छन्।
महरका अनुसार लोकतान्त्रिक व्यवस्थामा शक्तिशाली सरकार मात्र पर्याप्त हुँदैन। राज्यलाई सक्षम र प्रभावकारी बनाउन स्वतन्त्र, सबल र जवाफदेही राष्ट्रिय संस्थाहरू अपरिहार्य हुन्छन्।
सरकार परिवर्तन भइरहने राजनीतिक प्रणालीमा राज्यका स्थायी संस्थाहरूको क्षमता र विश्वसनीयता कमजोर भए त्यसको प्रत्यक्ष असर शासन व्यवस्था, नागरिकको विश्वास र राष्ट्रिय शक्तिमा पर्ने उनको विश्लेषण छ।
उनले कुनै पनि मुलुकको सफलता राष्ट्रिय संस्थाहरूको क्षमता, आर्थिक उन्नति तथा सक्षम र सबल नागरिकमा निर्भर रहने बताएका छन्।
“बलियो राज्यले मात्र समृद्ध समाज, सामाजिक न्याय र राष्ट्रिय एकतालाई मजबुत बनाउन सक्छ भन्ने मेरो विश्वास छ,” महरले भनेका छन्।
राजनीतिक स्थिरता, संस्थागत क्षमता, आर्थिक समृद्धि र नागरिकको विश्वास एकअर्कासँग जोडिएका विषय भएको उल्लेख गर्दै उनले राष्ट्रिय शक्तिलाई बलियो बनाउन राज्यका सबै प्रमुख संस्थाहरूको स्वतन्त्रता र विश्वसनीयता कायम राख्नुपर्नेमा जोड दिएका छन्।
“बलियो सरकार, सक्षम राज्य र समृद्ध राष्ट्र निर्माण नै आजको आवश्यकता हो,” महरले आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्।
न्यायपालिकासँग जोडिएका पछिल्ला विवादबारे बहस भइरहेका बेला महरले संस्थाको स्वतन्त्रताको रक्षा र सार्वजनिक भएका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनलाई सँगसँगै अघि बढाउनुपर्ने धारणा राखेका हुन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com