काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्टबीच शिष्टाचार भेटवार्ता भएको छ। बिहीबार भएको भेटमा नेपाल–अस्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, व्यापार विस्तार, आर्थिक सहकार्य तथा लगानी प्रवर्द्धनका विषयमा छलफल भएको हो।
भेटका क्रममा दुई देशबीचको आर्थिक साझेदारीलाई थप मजबुत बनाउने र पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा विचारविमर्श भएको थियो। विशेषगरी व्यापारिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने तथा लगानीका सम्भावित क्षेत्र पहिचान गर्ने विषयमा जोड दिइएको थियो।
सो अवसरमा मन्त्री साहले भोटेकोशी तथा बुढीगण्डकी क्षेत्रमा आएको बाढीका समयमा अस्ट्रेलिया सरकारले नेपाललाई उपलब्ध गराएको मानवीय सहयोगप्रति धन्यवाद व्यक्त गरे। विपद्का बेला अस्ट्रेलियाले देखाएको सद्भाव, सहयोग र समर्थनको उनले प्रशंसा गरे।
भेटमा आगामी दिनमा नेपाल र अस्ट्रेलियाबीच व्यापार विस्तार, आर्थिक साझेदारी तथा आपसी हितका क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउँदै लैजाने विषयमा समेत छलफल भएको थियो।
दुवै पक्षले नेपाल–अस्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउँदै आर्थिक तथा व्यापारिक सहकार्यका नयाँ सम्भावनाहरू अघि बढाउने विषयमा सकारात्मक विचार आदानप्रदान गरेका थिए।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com