info@nawayug.com

सार्कका महासचिव कार्यकाल सकेर स्वदेश फिर्ता

काठमाडौँ । सार्कको १५औँ महासचिवको रूपमा आफ्नो कार्यकाल पुरा गरी मोहम्मद गोलाम सरवार स्वदेश फर्केका छन् । २०८० कात्तिकमा नियुक्त भएका गोलाम आफ्नो तीन वर्षको कार्यकाल पुरा गरी स्वदेश फर्केको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

उनले आफ्नो तीन वर्षे कार्यकालमा खासै महत्त्वपूर्ण कार्य गर्न सकेनन् । सन् २०१४ देखि स्थगित सार्क शिखर सम्मेलन समेत गराउन नसकेको भन्दै उनको टिका टिप्पणी भइरहेको छ । 

सार्कमा बङ्गलादेशबाट प्रतिनिधित्व गर्ने सरवार तेस्रो कूटनीतिज्ञ थिए । महासचिव सरवार सन् १९९१ मा बङ्गलादेशको कूटनीतिक सेवा प्रवेश गरेका थिए । उनले मलेसिया, ओमन, स्वीडेनमा बङ्गलादेशी राजदूतका रूपमा र क्वालालम्पुर, काठमाडौँ, याङ्गुन र वासिङ्टन डिसीमा पनि बङ्गलादेशी कूटनीतिज्ञका रूपमा पनि काम गरिसकेका छन् ।

१६औँ महासचिवका रूपमा भुटानका तासो सोनाम तोब्गे नियुक्त भएका छन् । उनी छिट्टै काठमाडौँ आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सार्क सचिवालयमा वर्णानुक्रमका आधारमा नेतृत्व गर्ने परम्पराअनुसार नयाँ महासचिव सिफारिस गर्ने पालो अफगानिस्तानको थियो ।

तर अफगानिस्तानमा आएको तालिबानी सरकारलाई सार्क सदस्य राष्ट्रहरूले अझै मान्यता दिइनसकेकाले तालिका अनुसार अफगानिस्तानपछि रहेको बङ्गलादेशले अवसर पाएको थियो । अहिले पनि अफगानिस्तानलाई जिम्मेवारी  नदिएर भुटानलाई दिइएको छ । 

प्रतिक्रिया