info@nawayug.com

विश्वकप फाइनलअघि मेसीको भावुक सन्देश, के यो सन्न्यासको संकेत हो ?

काठमाण्डौं । फिफा विश्वकप फुटबलको उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नुअघि अर्जेन्टिनाका कप्तान लियोनल मेसीले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेको एउटा भावुक स्टाटसले सन्न्यास लिन लागेको सङ्केत गरेको छ ।

मेसीले लेखेका छन् – ‘यतिका वर्षहरूको सबैभन्दा सुन्दर कुरा केवल उपाधि जित्नु मात्र थिएन, यो समग्र यात्रा थियो । यो टोलीसँग हरेक दिन बिताउनु, सँगै प्रतिस्पर्धा गर्नु, गाह्रो समयमा मिलेर उठ्नु र यात्राको हरेक पाइलाको आनन्द लिनु नै सबैभन्दा विशेष रह्यो । मेरा हरेक साथीहरू, प्राविधिक टोली र यो राष्ट्रिय टोलीलाई सधैँ एउटा परिवारजस्तै राखिराख्न दिनरात मेहनत गर्ने सम्पूर्ण मानिसहरूलाई धेरै–धेरै धन्यवाद । भोलि जेसुकै भए पनि, यो टोलीले एउटा यस्तो इतिहास लेखिसकेको छ जसलाई हामीले कहिल्यै बिर्सने छैनौँ र कसैले पनि मेटाउन सक्ने छैन ।’

मेसीको पोस्टमा धेरैले शुभकामना दिएका छन् भने सँगै धेरैले फुटबल करियरको बिदाइका रूपमा पनि चर्चा गरिरहेका छन् ।

आज राति अमेरिकाको न्यु योर्क न्यु जर्सी रङ्गशालामा हुने फाइनल खेलसँगै उनले फुटबलबाट सन्न्यास लिन्छन् कि लिँदैनन् भन्ने थाहा पाउन भने अझै केही समय कुर्नुपर्छ ।

प्रतिक्रिया