info@nawayug.com

पशुपतिमा साउने सोमबारको तयारीः सफाइ अभियान सुरु

काठमाडौँ। साउन महिनामा आराध्यदेव भगवान पशुपतिनाथको पूजा आराधना एवं दर्शनका लागि आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा सफाइ अभियान सुरु गरिएको छ ।

साउन महिना र सोमबार आशुतोष भगवान शिवको महिना र बार मानिने भएकाले एकै दिन लाखौँ भक्तजन पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि आउने गर्दछन् । भक्तजनलाई सहजरूपमा सेवा दिने उद्देश्यले पशुपति क्षेत्र विकास कोषले आजदेखि सफाइ अभियान सुरु गरेको कार्यवाहक सदस्य सचिव एवं कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठले जानकारी दिनुभयो । 

पहिलो दिन आज पशुपतिनाथ मूल मन्दिर क्षेत्रबाट सूर्यघाटसम्म सफाइ गरिएको छ । यस अभियानलाई आइतबार अपराह्नपछि पनि निरन्तरता दिइने उहाँले बताउनुभयो । आइतबार मूल मन्दिर बन्द भएपछि सूक्ष्म रूपमा सफाइ गर्न लागिएको जनाउँदै यसमा सुरक्षा निकायलाई पनि सहभागी गराइने उहाँले उल्लेख गर्नुभयो । पहिलो दिनको पशुपति क्षेत्रको सफाइमा दर्जन बढी सङ्घसंस्थाको सहभागिता थियो । 

कोषले आजदेखि सुरु गरेको सफाइ अभियानलाई प्रत्येक हप्ताको शनिबार पनि निरन्तरता दिने तयारी गरिएको कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार साउनका लागि भने आइतबार र अन्य दिनमा पनि आवश्यकता अनुसार विशेष सफाइ अभियान सञ्चालन गरिने छ । रासस  

प्रतिक्रिया