काठमाडौं । सामाजिक सञ्जालमा अत्यधिक ट्रोल हुने गरेका युवा विजय शाहीले आलोचक र ट्रोलरहरूलाई जवाफ दिँदै स्मरण शक्तिमा नयाँ विश्व कीर्तिमान बनाएका छन् । उनले विश्वप्रतिष्ठित गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा तेस्रोपटक नाम लेखाउँदै ह्याट्रिक गर्न सफल भए ।
एक मिनेटमा सबैभन्दा धेरै वस्तुहरूको क्रम सम्झिने विधामा उनले नयाँ विश्वकिर्तिमान बनाएका हुन् । गिनिज बुकको वेबसाइटमा उल्लेख भएअनुसार उनले निर्धारित १ मिनेटभित्र ७० वटा वस्तुहरूलाई क्रमैसँग स्मरण गरी शतप्रतिशत सही क्रममा सुनाउन सफल भएका थिए ।
स्मरण शक्तिको विश्वकिर्तिमानमा पछिल्लो समय नेपाली युवाहरुबीच नै प्रतिस्पर्धा चलिरहेको छ । अर्पण शर्माले सन् २०१५ मा पहिलोपटक ४२ वटा वस्तुहरू सम्झिएर गिनिज बुकमा नाम लेखाएका थिए । पछि सन् २०२२ मा उनले आफ्नो क्षमता बढाउँदै ८३ वटा वस्तुहरू सम्झिएर रेकर्ड बनाए, जुन ‘वर्ल्ड बुक अफ रेकर्ड्स’ द्वारा प्रमाणित गरिएको थियो । ८३ बस्तुको रेकर्ड भने गिनिजमा छैन ।
यस्तै डा. नवल पजियारले सन् २०२० मा ५४ वटा वस्तु सम्झिएर अर्पणको रेकर्ड तोडे । उनले सन् २०२२ मा फेरि ५९ वटा वस्तुहरू स्मरण गरी आफ्नै किर्तिमान भंग गरेका थिए । पजियारको किर्तिमान चार वर्षपछि विजय शाहीले तोडेका हुन् ।
विगतमा आफ्ना केही अपत्यारिला दाबीहरूका कारण विवाद र शंकाको घेरामा परेका शाहीले पछिल्लो समय गिनिज बुकको आधिकारिक मापदण्ड र कडा नियमहरू पालना गर्दै एकपछि अर्को सफलता हासिल गरिरहेका छन् । उनले राखेका तीनवटै रेकर्डहरू अहिले गिनिज बुकको वेबसाइटमा आधिकारिक रूपमा दर्ता भइसकेका छन् ।
२०२१ मा शाहीले १ मिनेटमा १५० वटा ‘नन बाइनरी’ अंक स्मरण गरेर पहिलोपटक गिनिज बुकमा नाम लेखाएका थिए । यसको प्रमाणपत्र भने ५ वर्पछि गत अगष्टमा मात्रै आएको थियो । शाहीमाथि उत्पन्न विभिन्न कन्ट्रोभर्सीका कारण गिनिजले अध्ययन र छानबिनमा लामो समय लगाएको हो ।
उनले २०२५ अक्टोबरमा सबैभन्दा लामो समयसम्म उर्ध्व पद्मासन गरेर दोस्रोपटक गिनिज बुकमा नाम लेखाए । यस किर्तिमानका लागि २७ मिनेट ३ सेकेन्डसम्म उनले उर्ध्व पद्मासन गरेका थिए । यो विश्वकिर्तिमानको प्रमाणपत्र २०२५ डिसेम्बरमा शाहीलाई प्राप्त भएको थियो ।
त्यसअघि रहेको २० मिनेट ३६ सेकेन्डको विश्व रेकर्डलाई शाहीले ६ मिनेटभन्दा बढी समयले तोडेका हुन् । उक्त ऐतिहासिक योग रेकर्डका लागि भारतका लागि नेपाली राजदूत डा। शङ्करप्रसाद शर्माले नयाँ दिल्लीस्थित नेपाली दूतावासमा उनलाई प्रमाणपत्र हस्तान्तरण गर्दै सम्मानित समेत गरेका थिए ।
शाहीले आफ्नो चौथो विश्व रेकर्डको घोषणा पनि चाँडै हुने संकेत गरेका छन् ।
शाही पछिल्लो समय मेमोरी प्रशिक्षक तथा प्रदर्शनकर्ताका रुपमा सक्रिय छन् । उनले मेमोरी क्लास चलाउनका लागि काठमाडौंमा कार्यालयसमेत खोलेका छन् । गत असोजबाट उनले मेमोरी किङ अफ इन्स्टिच्युट सञ्चालनमा ल्याएका हुन् । स्कुल कलेजका विद्यार्थीहरु स्मरणशक्ति बढाउने जुक्ति सिक्न शुल्क तिरेर उनको इन्स्टिच्युटमा धाउँछन् ।
शाही यसै वर्ष उनी चर्चित क्लव एलओडी (लर्ड अफ ड्रिङ्स) को ब्रान्ड एम्बेसडर नियुक्त भए । यसवापत उनले ५ लाख ५० हजार रुपैयाँ पाएको दावी गरिएको छ । बेलाबखत उनी महंगा गाडीमा चढेको र अंगरक्षकहरुको डफ्फा लिएर हिँडेको समेत देखिन्छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com