info@nawayug.com

कलंकी नापीका सर्भेक्षक र पत्नीसँग पौने ५ करोडको अवैध सम्पत्ति, अख्तियारद्वारा मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुविन्द्र श्रेष्ठविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले श्रेष्ठमाथि ४ करोड ७४ लाख ४६ हजार ८१३ रूपैयाँ बराबरको बिगो दाबीसहित बिहीबार आरोपपत्र दायर गरेको हो ।

श्रेष्ठले पदीय मर्यादाविपरीत गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती कमला श्रेष्ठको नाममा समेत राखेको पाइएपछि सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनलाई समेत प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार श्रेष्ठ सरकारी सेवामा प्रवेश गरेको मिति २०५३ साउन २७ देखि २०८१ चैत २९ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी सम्पत्ति अनुसन्धान गरिएको थियो ।

जाँच अवधिमा पारिश्रमिक, भत्ता, जग्गा तथा सवारीसाधन बिक्री, छोरीको पारिश्रमिक, घर–जग्गा बहाल, बिमा परिपक्व, बैंक ब्याज र ऋण सापटीलगायतका वैध स्रोतबाट उनको कुल आम्दानी ७ करोड ७५ लाख ७८ हजार ८४० रूपैयाँ देखिएको थियो ।

तर, सोही अवधिमा उनले जग्गा खरिद, घर निर्माण, सेयर तथा सवारीसाधन खरिद, छोरीहरूको अध्ययन खर्च, ऋण सापटी भुक्तानी र बैंक मौज्दातसहित कुल १२ करोड ५० लाख २५ हजार ६५४ रूपैयाँ ३६ खर्च र लगानी गरेको अनुसन्धानमा खुलेको छ ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सर्भेक्षक श्रेष्ठले आयोगमा पेस गरेको सम्पत्ति विवरण वास्तविक नभएको, अस्वाभाविक देखिएको र सम्पत्ति लुकाएर झुट्टा विवरण पेस गरेको तथ्यसमेत पुष्टि भएको छ ।

आयोगले श्रेष्ठविरुद्ध झुट्टा सम्पत्ति विवरण पेसको कसुरमा छुट्टै कैद तथा जरिवानाको माग गरेको छ । अवैध आर्जनबाट श्रीमती कमला श्रेष्ठको एकल तथा संयुक्त नाममा खरिद गरिएका सम्पत्ति जफतको माग गरिएको छ ।

प्रतिक्रिया