info@nawayug.com

अर्बौँ डलर लगानी गरेको एआई चीनका लागि बन्यो चुनौती

प्राकृतिक विपद्का बेला चीनका लागि नक्कली एआई भिडियोहरू नयाँ चुनौतीका रूपमा देखा परेको छ ।

अस्ति आइतवार जमिनमा बज्रिएको ‘नोल’ नामक आँधीको असरसँग जुधिरहँदा अधिकारीहरूले कृत्रिम बुद्धिमत्ता अर्थात् ‘एआई’ को प्रयोग गरी बनाइएका खतरनाक तथा भ्रामक भिडियोहरूको चुनौती सामना गर्नुपरेको बीबीसीले जनाएको छ ।

पछिल्ला केही महिनायता आएका शक्तिशाली आँधीबेहरी र बाढीका घटनाहरूसँगै सामाजिक सञ्जालमा नक्कली भिडियोहरूको क्रम पनि बढेको छ । यसमा बाढीको पानीमा तैरिरहेका शवका दृश्यहरू, वास्तवमा प्रभावित नभएका क्षेत्रमा पनि ठूलो बाढी आएको भनी देखाइएका भ्रामक दृश्यहरू तथा आपत्कालीन उद्धार प्रयासहरूबारे सरासर गलत विवरण भएका अन्य सामग्रीहरू समावेश रहेका छन् ।

केही क्षेत्रमा विद्युत् कटौतीसम्बन्धी गलत जानकारी भएका भिडियोहरूका कारण स्थानीय बासिन्दाहरूले आपत्कालीन सामग्रीहरू हतारहतार किन्न थालेका खबरमा उल्लेख छ ।

यही जुलाई महिनाको शुरूमा ग्वाङसीको हेङझाउ शहरमा आएको बाढीका कारण प्रजनन केन्द्रबाट सयौँ सर्पहरू बगेका थिए । त्यसपछि गोहीहरूलाई नदीमा छोडिएको देखाउने नक्कली तस्वीरहरू पनि सार्वजनिक भएका थिए ।

एआई प्रविधिमा अर्बाैँ अमेरिकी डलर लगानी गरिरहेको चीनका लागि अहिले त्यही प्रविधिको प्रयोग गरी बनाइएका भ्रामक भिडियो र तस्वीरहरू चुनौती बनेको छ ।

पछिल्ला हप्ताहरूमा नक्कली रिपोर्ट र भिडियो सामग्री सिर्जना गरेकोमा पक्राउ र सजायहरू भएका छन् । तर विज्ञहरूले गलत सूचनाको अभूतपूर्व सङ्कट निम्तिन सक्ने चेतावनी दिइरहेका छन् ।

अग्रणी प्राविधिक महाशक्ति बन्ने प्रयासमा चिनियाँ सरकारले एआईलाई अपनाइरहेको छ । सन् २०१७ मा चीनले एआई देशको प्रगतिको ‘मुख्य चालक शत्ति’ बन्ने घोषणा गरेको थियो ।

प्रतिक्रिया