विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले आठ राउन्ड गोली चलाएको छ । प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन् भने पेस्तोल र करिब आधा किलो खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन् ।
मोरङ प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार घाइते हुनेमा भारतको अररिया, कुशाहाका २२ वर्षीय दीपककुमार बोसाक र कुटुमगन्जका ४० वर्षीय पुरन बोसाक रहेका छन् । दुवैको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
घटनामा पक्राउ पर्ने तेस्रो व्यक्ति मोरङको रतुवामाई नगरपालिका–१ चुनिमारीका ३५ वर्षीय प्रमोद ठाकुर हुन् ।
प्रहरीका अनुसार लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरोको टोली परिचालन गरिएको थियो । सोही क्रममा राति करिब ९ः३० बजे रतुवामाई नगरपालिका–६ शनिश्चरेमा भारतीय नम्बर प्लेट बीआर ३७ भी ३९२६ को मोटरसाइकल र नम्बर नखुलेको अर्को मोटरसाइकलमा सवार तीन जनालाई प्रहरीले रोक्न खोजेको थियो ।
प्रहरीलाई देखेपछि उनीहरू भाग्न खोजेपछि नियन्त्रणमा लिन आठ राउन्ड गोली प्रहार गरिएको डीएसपी मिश्रले जानकारी दिए । उनका अनुसार चाइनिज पेस्तोलबाट पाँच राउन्ड र ब्रेडा पेस्तोलबाट तीन राउन्ड गोली चलाइएको थियो । गोली लागेर घाइते भएका दुवै भारतीय नागरिकको घुँडामुनि चोट लागेको छ ।
पक्राउ परेकाहरूको साथबाट एक थान घरेलु पेस्तोल, त्यसमा लाग्ने एक राउन्ड गोली, करिब ५०० ग्राम खैरो हेरोइन र मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरू लामो समयदेखि लागुऔषध कारोबारमा संलग्न रहँदै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी मिश्रले जानकारी दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com