काठमाडौँ । भोटेकोशी करिडोरमा आएको बाढीपहिरोका कारण प्रभावित आयोजनाको सुरुङभित्र खोज तथा उद्धारका क्रममा ३७ वटा शव फेला परेको नेपाली सेनाले जनाएको छ। नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले सुरुङभित्रको अवस्था अत्यन्तै जोखिमपूर्ण र जटिल रहेको बताएका हुन्।
शुक्रबार भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा धारणा राख्दै उनले खोज तथा उद्धारका क्रममा ११औँ दिन एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गरिएको जानकारी दिए।
उक्त आयोजनामा कोरियन कम्पनीको स्वामित्व तथा कोरियन सब–कन्ट्र्याक्टरमार्फत काम भइरहेको थियो । त्यहाँ नेपाली र भारतीय कामदार पनि कार्यरत थिए। आयोजनाको दुईवटा ठूला कामदार क्याम्पसहित ड्याम साइट, पावरहाउस र अन्य क्षेत्रमा काम भइरहेको थियो।
सहायक रथी थापाले ९.७ किलोमिटर लामो सुरुङको नक्शा प्राप्त गरेपछि दुई जना इन्जिनियरसँग समन्वय गरी खोज तथा उद्धारको कार्ययोजना बनाइएको बताए। हेडवर्क, अडिट क्षेत्र र पावरहाउस क्षेत्रमा ठूलो सङ्ख्यामा कामदार कार्यरत थिए। उद्धार टोलीले प्रारम्भिक रेकीका क्रममा सुरुङभित्र प्रवेश गर्ने दुईवटा सम्भावित स्थान मात्र फेला पार्यो। अन्य प्रवेश मार्गहरू पूर्ण रूपमा अवरुद्ध थिए।
नेपाली सेना, चिनियाँ र कोरियन टोलीले संयुक्त रूपमा खोजी तथा उद्धारको काम अघि बढाए। पावरहाउस क्षेत्रमा कार्यरत १२० देखि १३० जना कामदारमध्ये ११० जनालाई ४८ घण्टाभित्र हेलिकप्टरमार्फत उद्धार गरियो।
डिसेन्डर बेसिन क्षेत्रमा हेलिकप्टर अवतरण गर्न सम्भव थिएन। उद्धार टोलीले जोखिम मोलेर सुरुङभित्र प्रवेश गर्ने क्रममा अत्यधिक हिलो, साँघुरो बाटो र अक्सिजनको कमीको सामना गर्नुपर्यो । कतिपय ठाउँमा कम्प्रेसर मेसिनको सहायताले अवरोध हटाएर सुरुङभित्र प्रवेश गरियो।
सहायक रथी थापाले सुरुङको माथिल्लो भागमा ढलानको काम भइरहेको स्थानबाट ११औँ दिन एक चिनियाँ नागरिकलाई सकुशल उद्धार गर्न सफल भएको बताए। अडिट–३ बाट अस्ट्रेलियन उद्धार टोलीको ड्रोनको सहायताले सुरुङभित्र करिब एक हजार ७०० मिटर अगाडिसम्मको अवस्था अध्ययन गरियो ।
त्यहाँ सुरुङ पूर्ण रूपमा अवरुद्ध भएको भेटियो । खोजीका क्रममा हेडवर्क क्षेत्रमा ठूला मेसिन, मिक्सर, एक्स्काभेटर र ट्रकहरू थुप्रिएको अवस्थामा भेटिए र त्यस क्षेत्रमा ३७ वटा शव फेला परे। सुरुङभित्रको अवस्था हेर्दा प्रारम्भिक झड्कामै ठूलो क्षति भएको देखिन्छ। हाल पनि खोज तथा उद्धारको काम जारी छ।
हेडवर्कबाट अडिट–३ हुँदै करिब १.७ किलोमिटर भित्रसम्म पुगिए पनि त्यसपछिल्लो क्षेत्रमा जान सक्ने अवस्था छैन। सुरुङको करिब चार किलोमिटर क्षेत्रमा २१ फिटको सुरुङमा १७ फिटसम्म पानी र लेदो जमेको छ । अडिट–१ क्षेत्रबाट पानी निकाल्ने विकल्पमा आयोजना तथा इन्जिनियरिङ टोलीसँग छलफल भइरहेको छ।
सहायक रथी थापाले भने, ‘उक्त आयोजनामा कोरियन, चिनियाँ, भारतीय तथा नेपाली कामदारहरू कार्यरत थिए। ९.७ किलोमिटर लामो सुरुङमा आएको बाढीका कारण उद्धार कार्य निकै चुनौतीपूर्ण बन्यो। डिसेन्डर क्षेत्रको साँघुरो र हिलोयुक्त सुरुङमा अक्सिजनको सहायताले प्रवेश गरी खोजी गर्दा ११औँ दिन एक चिनियाँ नागरिकलाई जीवित उद्धार गर्न सफल भयौँ।
अडिट ३ बाट करिब १,७०० मिटरभित्र खोजी गर्दा ३७ वटा शव फेला परेका थिए। सुरुङभित्र जीवित उद्धार गरिएका चिनियाँ नागरिकले हेलमेटमा पानी जम्मा गरेर पिउने र सुरुङभित्र हिँडेर समय बिताएको प्रारम्भिक जानकारी दिएका थिए। उद्धारका बेला उनी निकै स्वस्थ अवस्थामा थिए।’
हाल उक्त क्षेत्रमा नेपाली सेनाका ४२ जना जनशक्ति परिचालन गरिएको छ।
१३ कार्तिक २०८३, शुक्रबार ०१:१६ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com