झापा । भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको करिब डेढ लाख रुपैयाँ मूल्य बराबरको पटका प्रहरीले बरामद गरेको छ। झापा गाउँपालिका र भद्रपुरमा मंगलबार गरिएको छुट्टाछुट्टै प्रहरी कारबाहीमा विभिन्न प्रकारका पटका बरामद भएका हुन्।
झापा गाउँपालिका–२ कुवाडीमा मंगलबार दिउँसो ४ः३५ बजे नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले भारतबाट ल्याउँदै गरेको दुई बोरा पटका बरामद गरेको हो। इलाका प्रहरी कार्यालय कुमरखोदका प्रहरी नायव निरीक्षक सुवास ढुङ्गानाको कमाण्डमा खटिएको टोलीले करिब एक लाख रुपैयाँ मूल्य बराबरका पटका नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
भारतबाट पटका बोकेर ल्याउँदै गरेका व्यक्तिहरू प्रहरी टोलीलाई देखेपछि बोरा छाडेर फरार भएका थिए। बरामद पटका इलाका प्रहरी कार्यालय कुमरखोदमा राखिएको छ।
त्यसैगरी, भद्रपुर बजारस्थित बैजु साहको घरपछाडि रहेको झाडीमा लुकाएर राखिएको ५० हजार रुपैयाँ मूल्य बराबरको पटका पनि प्रहरीले बरामद गरेको छ।
मंगलबार बिहान १० बजे गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय भद्रपुर र सशस्त्र प्रहरी बल नम्बर २ गण झापाबाट खटिएको संयुक्त टोलीले १०० प्याकेट जगमग चकलेट पटका बरामद गरेको हो।
बरामद भएका दुवै घटनाका पटका सम्बन्धित प्रहरी कार्यालयमा राखिएको छ। पटका ल्याउने तथा लुकाएर राख्ने व्यक्तिहरूको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com