काठमाण्डौं । बर्डफ्लूको प्रभावका कारण घटेको कुखुराजन्य उत्पादन र मासुको खपत बढ्न थालेको छ । देशका विभिन्न ११ जिल्लामा बर्डफ्लू देखिएपछि बिगतमा मासु र अण्डाको खपत नै घटेको थियो ।
नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले अण्डा र मासुको खपत अहिले विस्तारै बढ्न थालेको बताउनुभएको छ । उहाँका अनुसार दैनिक आठ लाख किलो हाराहारी कुखुराको मासु खपत हुने गरेकामा घटेर छ लाख किलोमा झरेको थियो ।
अहिले खपत बढ्ने क्रम शुरु भएको छ । ब्रोइलर जिउँदो कुखुरा प्रतिकिलो २५० बाट झरेर १४० मा आइपुगेको थियो । अहिले बढेर प्रतिकिलो १९० रुपैयाँमा पुगेको लामिछानेले जानकारी दिनुभयो । नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले पनि दैनिक ४५ लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएकोमा बर्डफ्लूका कारण घटेर २८ लाख हाराहारीमा झरेको छ ।
अहिले अण्डाको खपत बढेसँगै मूल्य बढ्न थालेको उहाँले बताउनुभयो । उहाँले प्रभावित उद्यमी र किसानलाई सरकारले आवश्यक सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
पशु सेवा विभागकाअनुसार यस वर्ष मोरङ, चितवन, झापा, सुनसरी, महोत्तरी, बारा र नवलपरासीका विभिन्न ठाउँमा देखिएको बर्डफ्लू पूर्णरुपमा नियन्त्रणमा आइसकेको छ ।
काठमाण्डौ उपत्यका र काभ्रेमा पनि नियन्त्रण उन्मुख छ । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला भरतपुर चितवनका प्रमुख डा। विजयकुमार श्रेष्ठका अनुसार कुखुराको मासु र अण्डा राम्रोसँग पकाएर वा उमालेर खाँदा कुनै असर नगर्ने भएकाले ढुक्कसँग उपभोग गर्न सकिन्छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com