info@nawayug.com

नवलपुरमा सर्पदंशका घटना बढ्दो, दुई महिनामा २७७ प्रभावित

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना भएका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी कार्यालय प्रमुख एवं जनस्वास्थ्य प्रशासक केशवप्रसाद चापागाईंका अनुसार जिल्लामा सबैभन्दा धेरै कावासोती नगरपालिकामा १७४ वटा सर्पदंशका घटना भएका छन् ।

गत साउन र भदौमा भएका घटनामध्ये विनयी त्रिवेणी गाउँपालिकामा ८३, देवचुली नगरपालिकामा १०, बौदिकाली गाउँपालिकामा ८ तथा बुलिङटार गाउँपालिकामा दुई जना सर्पले डसेर बिरामी भएका प्रमुख चापागाईंले बताए । अत्याधिक गर्मी र बर्खायाम साउन र भदौमा तुलनात्मक सर्पदंशका घटना बढी हुने गरेको छ ।

जिल्लाको मध्यविन्दु प्रादेशिक अस्पतालसहित विभिन्न स्वास्थ्य संस्थामा सर्पदंशका बिरामीको उपचार हुने गरेको छ । सर्पदंशका बिरामीमध्ये आइसियु (सघन उपचार कक्ष) आवश्यक पर्ने बिरामीलाई चितवन पठाइने गरेको छ । अन्य बिरामीको उपचार भने जिल्लाका स्वास्थ्य संस्थाहरुमा हुने गरेको छ ।

उनले भने, “जिल्लामा गोमन, करेत, भाइपर, राजगोमन प्रजातिका विषालु सर्प पाइन्छ ।” त्यस्तै साउन र भदौमा जनावरको टोकाइबाट दुई हजार ७७ जना मानिस घाइते भएका छन् । प्रमुख चापागाईंका अनुसार जिल्लामा कुकुर, बिरालो, बाँदर, स्याललगायतका जनावरले टोकेर मानिस घाइते भएका हुन् । त्यसमध्ये कावासोती नगरपालिकामा मात्रै एक हजार ५५१ जनालाई जनावरले टोकेको चापागाईंले जानकारी दिए।

त्यस्तै, देवचुली नगरपालिकामा ३१२, विनयी त्रिवेणी गाउँपालिकामा १६४, गैँडाकोट नगरपालिकामा २९, बुलिङटार गाउँपालिकामा १२, बौदिकाली गाउँपालिकामा पाँच तथा मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकामा दुई–दुई जनालाई जनावरले टोकेको प्रदेश जनस्वास्थ्य कार्यालयबाट थाहा भएको छ ।

जिल्लामा बर्सेनि १० हजार बढी सर्वसाधारण जनावरको टोकाइबाट घाइते हुने गरेका चापागाईंले बताए । रेबिजविरुद्धको सुई जिल्लामा पर्याप्त रहेकाले जनावरको टोकाइबाट घाइते बिरामीलाई उपचारमा सहज भएको अस्पतालको भनाइ छ ।

प्रतिक्रिया