काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार भक्तपुरबाट पक्राउ परे । भक्तपुरस्थित घरबाट साइबर ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको हो । प्रसाईंमाथि विद्युतीय अपराध ऐन–२०६३ अनुसारको कसुरमा अनुसन्धान भइरहेको साइबर ब्यूरोका एसपी दिलीप गिरीले जानकारी दिएका छन् ।
प्रहरी स्रोतका अनुसार प्रसाईं सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीका आधारमा पक्राउ परेका हुन् । प्रसाईंले सामाजिक सञ्जाल युट्युबमार्फत खतिवडालाई लक्षित गर्दै टिप्पणी गरेका थिए ।
सांसद खतिवडाले प्रसाईंको उक्त टिप्पणीबारे संसद्मा समेत आवाज उठाएकी थिइन् । असोज ६ मा त्यस्तो अपमानजनक टिप्पणी सुन्दा आफू स्तब्ध भएको उल्लेख गर्दै उनले भनेकी थिइन्, ‘सहिदकी आमाको यत्रो अपमान हुँदा सरकार के हेरेर बसेको छ ?’
खतिवडाले त्यसबारे अनुसन्धान गर्न ब्यूरोमा उजुरी दिएको ब्यूरोका एक जना अधिकृतले बताए । उनले भने, ‘प्रसाईंको भनाइबाट सहिदको अपमान भएको र आफ्नो चरित्र हत्या भएको भन्ने व्यहोराको जाहेरी दर्ता भएको थियो ।’
प्रहरीले प्रसाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको छ । जेनजी आन्दोलनअघि र त्यसपछि पनि प्रसाईं पटक–पटक पक्राउ पर्दै आएका छन् । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले गरेपछि उनी ५ पटक पक्राउ परेका थिए ।
बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि पनि प्रसाईंको पक्राउ पर्ने र छुट्ने शृङ्खला जारी नै छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com