info@nawayug.com

सुदूरपश्चिमको बजेट भोलि प्रदेशसभामा प्रस्तुत हुने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट भोलि साँझ ५ बजे प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ।

प्रदेशसभाको कार्यव्यवस्था तथा परामर्श समितिको मंगलबार बसेको बैठकले बजेट प्रस्तुत गर्न बुधबार साँझ ५ बजे प्रदेशसभा बैठक बोलाउने निर्णय गरेको हो।

प्रदेशसभा बैठक आह्वानका लागि सरकारले पत्र पठाइसकेको सभामुख भीम भण्डारीले जानकारी दिए। उनका अनुसार सरकारले बजेट प्रस्तुत गर्न समय माग गरेपछि समितिले भोलि साँझ ५ बजेका लागि बैठक बोलाउने निर्णय गरेको हो।

‘सरकारले बजेट प्रस्तुत गर्ने समय माग गरेअनुसार कार्यव्यवस्था तथा परामर्श समितिले भोलि ५ बजे प्रदेशसभा बैठक बोलाउने निर्णय गरेको हो,’ सभामुख भण्डारीले भने।

यसअघि असार १ गते प्रदेशसभामा प्रस्तुत गरिएको बजेट पारित हुन नसकेपछि सुदूरपश्चिम प्रदेशमा साउन १ गतेदेखि बजेट शून्यता कायम छ। बजेट पारित हुन नसक्दा अस्पताल सञ्चालन, विकास आयोजना कार्यान्वयन, कार्यालय सञ्चालन तथा प्रदेशका कर्मचारी र पदाधिकारीको तलबभत्तामा समेत असर परेको छ।

कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा सरकारका प्रवक्तासमेत रहेका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावल र आन्तरिक मामिला तथा कानुनमन्त्री खुशीराम चौधरी सहभागी थिए।

मन्त्री रावलले नयाँ बजेटको तयारी अन्तिम चरणमा पुगेको र बुधबार साँझ ५ बजे प्रदेशसभामा बजेट प्रस्तुत गरिने जानकारी दिए।

प्रतिक्रिया