info@nawayug.com

अर्जुनधारा जलेश्वरधामको ४४औँ वार्षिक अनुष्ठान मंसिर १४ देखि, ५५ लाख खर्च अनुमान

झापा । पूर्वको पशुपतिनाथका रूपमा परिचित झापाको अर्जुनधारा जलेश्वरधाममा ४४औँ वार्षिक अनुष्ठान आयोजना हुने भएको छ। अर्जुनधारा नगरपालिका–७ स्थित धाममा आगामी मंसिर १४ देखि २१ गतेसम्म आठ दिन धार्मिक अनुष्ठान सञ्चालन गर्न लागिएको हो।

नेपाल सरकारबाट धार्मिक पर्यटकीय गन्तव्यका रूपमा सूचीकृत धामले हरेक वर्ष आयोजना गर्दै आएको वार्षिक अनुष्ठानलाई यस वर्ष पनि धार्मिक विधि र परम्पराअनुसार सम्पन्न गर्ने तयारी गरेको जनाएको छ। अनुष्ठानको अन्तिम दिन मंसिर २१ गते बालाचतुर्दशीका अवसरमा शतबीज रोपण, पूर्णाहुति तथा तिलकप्रसाद वितरण गरी कार्यक्रम समापन गरिनेछ।

अनुष्ठानलाई व्यवस्थित बनाउन धाम कार्यसमितिको बैठकले विभिन्न कार्यक्रम तथा व्यवस्थापनका लागि २४ वटा उपसमिति गठन गरेको छ। भक्तजनको आवागमन, आवास, भोजन, सुरक्षा, स्वास्थ्य उपचार, सरसफाइ तथा सांस्कृतिक कार्यक्रमलाई लक्षित गरी जिम्मेवारी बाँडफाँट गरिएको छ।

अनुष्ठानको पहिलो दिन मंसिर १४ गते बिहान ११ बजे कलश यात्रासहित नगर परिक्रमा गरिनेछ। दिउँसो १ बजे धान्याचल, यज्ञ तथा गल्ला उद्घाटन गर्ने कार्यक्रम छ। प्रत्येक दिन बिहान ७ बजेदेखि मण्डप पूजा तथा पाठपारायण र बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म श्रीमद्भागवत कथा प्रवचन सञ्चालन हुनेछ।

कथा प्रवचनका लागि भारतको सिक्किमस्थित मंगलधामका श्रीमद्भागवत भाष्कर गुरुजी श्री १०८ प्रमोद सुधाकर महाराजलाई आमन्त्रण गरिएको छ। यज्ञ अनुष्ठानको प्रमुख आचार्यत्व धामका मूल अर्चक पण्डित अग्निप्रसाद सिग्देलले गर्नेछन्। उपवाचकमा अर्जुनधारा संस्कृत वेद विद्यापीठका ध्यान शिक्षक पण्डित चिरञ्जीवी ढुंगाना र यज्ञाचार्यमा विद्यापीठका प्राचार्य पण्डित हेमन्त भण्डारी रहनेछन्।

हरेक दिन साँझ ५ः३० बजे पितृमोक्षको कामनासहित तीन जना ब्राह्मणद्वारा गङ्गा आरती गरिनेछ। साँझ ७ः३० देखि राति ९ बजेसम्म धार्मिक प्रवचन, भजन तथा कीर्तन सञ्चालन हुनेछ।

अनुष्ठानअन्तर्गत मंसिर २० गते साँझ लक्ष्यवर्तिका प्रज्वलन, धार्मिक झाँकी, भजनकीर्तन तथा रात्रिजाग्राम कार्यक्रम राखिएको छ। मंसिर २१ गते बिहान ५ बजेदेखि शतबीज रोपण सुरु हुनेछ। त्यसपछि पूर्णाहुति तथा तिलकप्रसाद वितरण गरी अनुष्ठान समापन गरिने आयोजकले जनाएको छ।

२४ उपसमितिमार्फत व्यवस्थापन

आठ दिनसम्म चल्ने अनुष्ठानलाई व्यवस्थित बनाउन धामले २४ वटा व्यवस्थापन उपसमिति गठन गरेको छ। कार्यालय व्यवस्थापनको जिम्मेवारी महासचिव शिवलाल खतिवडा र सहसंयोजकको जिम्मेवारी सचिव कृष्णप्रसाद भट्टराईलाई दिइएको छ।

त्यसैगरी, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन चित्रसेन भण्डारी, व्यास व्यवस्थापन पण्डित चिरञ्जीवी ढुंगाना र आर्थिक व्यवस्थापन कोषाध्यक्ष मनोज जोशीले सम्हाल्नेछन्।

खाद्य व्यवस्थापन दीपक तामाङ, मन्दिर पूजा व्यवस्थापन उपाध्यक्ष चन्द्रकला भण्डारी, आवास व्यवस्थापन उपाध्यक्ष भीमचन्द्र भट्टराई तथा सरसफाइ र बजार व्यवस्थापन बेनुप्रसाद शिवाकोटीको संयोजनमा सञ्चालन हुनेछ।

प्रचारप्रसार, सांस्कृतिक कार्यक्रम, झाँकी, नगर परिक्रमा, स्वास्थ्य उपचार, अतिथि सत्कार, आपूर्ति, स्टोर, गुरुकुल मेस, गङ्गा आरती तथा लक्ष्यवर्तिका प्रज्वलनलगायतका कामका लागि पनि छुट्टाछुट्टै उपसमिति बनाइएको छ।

५५ लाख २० हजार आम्दानी र खर्चको अनुमान

धामले ४४औँ वार्षिक अनुष्ठान सञ्चालनका लागि ५५ लाख २० हजार रुपैयाँको अनुमानित बजेट तयार पारेको छ। अनुष्ठानका क्रममा सोही बराबर आम्दानी र खर्च हुने अनुमान गरिएको छ।

अनुमानित आम्दानीमध्ये सहयोग रसिदबाट २५ लाख, मन्दिर भेटीबाट नौ लाख, गङ्गा आरतीबाट एक लाख, चाँदीबापत पाँच लाख, अक्षयकोषबाट पाँच लाख, गुरुकुल अक्षयकोषबाट दुई लाख, आजीवन सदस्यताबाट २० हजार, खाद्य महाप्रसादबाट २० लाख र अन्य स्रोतबाट छ लाख रुपैयाँ जुट्ने अपेक्षा गरिएको छ।

खर्चतर्फ पण्डाल, शीत छल्ने व्यवस्था तथा स्टल निर्माणमा सात लाख, दक्षिणामा सात लाख, विद्युत् तथा जेनेरेटरमा एक लाख ५० हजार, साउण्ड सिस्टममा एक लाख ५० हजार र खाद्य महाप्रसाद व्यवस्थापनमा दुई लाख रुपैयाँ विनियोजन गरिएको छ।

त्यस्तै, गुरुवर्ग तथा बटुकहरूको भोजनमा एक लाख, प्रचारप्रसार, छपाइ तथा विज्ञापनमा दुई लाख, पूजा सामग्री र वरणमा एक लाख तथा रङरोगनमा एक लाख रुपैयाँ खर्च हुने अनुमान छ। शौचालय सफाइ, फिनेल तथा मर्मतसम्भारका लागि एक लाख ५० हजार रुपैयाँ छुट्याइएको छ।

दैनिक ज्याला, अतिथि सत्कार, इन्धन, कार्यालय सामग्री, दाउरा–पराल, सांस्कृतिक कार्यक्रम, झाँकी, सम्मानपत्र तथा विविध शीर्षकमा समेत खर्चको व्यवस्था गरिएको छ।

धार्मिक पर्यटनको केन्द्र जलेश्वरधाम

अर्जुनधारा जलेश्वरधाम पूर्वी नेपालकै प्रमुख धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित छ। पूर्वको पशुपतिनाथका नामले चिनिने यस धाममा विभिन्न पर्व तथा धार्मिक अवसरमा नेपालका विभिन्न जिल्ला र भारतका सीमावर्ती क्षेत्रबाट समेत श्रद्धालु आउने गरेका छन्।

विशेषगरी बालाचतुर्दशीमा हुने शतबीज रोपण, वार्षिक अनुष्ठान, भागवत कथा तथा धार्मिक पूजाआजाले धामको महत्त्व बढाउँदै आएको छ। यस वर्षको अनुष्ठानमा यज्ञ, गङ्गा आरती, भागवत कथा, लक्ष्यवर्तिका प्रज्वलन र धार्मिक झाँकीलाई विशेष आकर्षणका रूपमा राखिएको छ।

धामले आठ दिनसम्म सञ्चालन हुने धार्मिक अनुष्ठानमा सहभागी हुन श्रद्धालु, भक्तजन तथा धर्मप्रेमीहरूलाई आमन्त्रण गरेको छ।

प्रतिक्रिया