info@nawayug.com

तिहारमा पाँच दिन काभ्रेका सडकमा टिपर चलाउन प्रतिबन्ध

काभ्रे । तिहार पर्वलाई लक्षित गर्दै काभ्रेपलाञ्चोक जिल्लाका मुख्य तथा सहायक सडकमा पाँच दिनसम्म टिपर सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सूचना जारी गर्दै कात्तिक २२ गते बिहान ५ बजेदेखि कात्तिक २६ गते बेलुका ९ बजेसम्म टिपर सञ्चालन गर्न निषेध गरेको हो ।

जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार चाडपर्वका समयमा सडकमा सवारीसाधनको चाप बढ्ने र दुर्घटनाको जोखिमसमेत उच्च हुने भएकाले टिपर सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ ।

तिहारका बेला यात्रुवाहक सवारीसाधनको आवागमन सहज बनाउने उद्देश्यले विगतका वर्षमा पनि जिल्लाका मुख्य तथा सहायक सडकमा टिपर सञ्चालन रोक्ने गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालयले तोकिएको अवधिमा टिपर सञ्चालन नगर्न तथा नगराउन सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया