काठमाडौँ। डाँका चोरी मुद्दामा ७ वर्ष जेल सजाय काटेर निस्केका पूर्वसशस्त्र प्रहरी जवानसहित तीन जनालाई प्रहरीले खैरो हेरोइनसहित पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले बिहीबार काठमाडौँबाट आरोपीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका–५ घर भएका ३७ वर्षीय युवराज भण्डारी, सप्तरीको राजबिराज नगरपालिका–३ घर भएका ३३ वर्षीय कौशल कुमार राय र धनुषाको नगराइन नगरपालिका–५ घर भएका गोपाल साह छन् ।
ब्यूरोको टोलीले आरोपीहरूको साथबाट १३२ ग्राम ११० मिलिग्राम खैरो हेरोइन, २ लाख ५० हजार रुपैयाँ नगद र डिजिटल तराजु बरामद गरेको छ ।
काठमाडौँको तारकेश्वर नगरपालिका–८ स्थित शिव मन्दिर नजिकबाट सुरुमा युवराज भण्डारीलाई पक्राउ गरिएको ब्यूरोका एसपी दुर्गा रेग्मीले रातोपाटीलाई बताए । उनको डेरा कोठामा खानतलासी गर्दा ३५ ग्राम ४६० मिलिग्राम खैरो हेरोइन र २ लाख ५० हजार भेटिएको थियो ।
भण्डारी सशस्त्र प्रहरीका पूर्व जवान हुन् । भण्डारीसँको बयानपछि गोपाल साह र कौशल कुमार राय भक्तपुरबाट पक्राउ परेका हुन् । उनीहरुको साथबाट ९६ ग्राम ६५० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको एसपी रेग्मीले जानकारी दिए।
सशस्त्रका पूर्व जवान भण्डारी यसअघि २०७६ भदौ १९ गते डाँका चोरी मुद्दामा पक्राउ परी ७ वर्ष कैद र ८० हजार रुपैयाँ जरिवाना भुक्तान छुटेका थिए ।
उनी २०८३ भदौ २४ मा छुटेका हुन् । छुट्नासाथ उनले लागुऔषधको काम सुरु गरैको प्रहरीको अनुसन्धानबाट खुलेको छ । भण्डारीलाई लागुऔषध उपलब्ध गराउने व्यक्ति नख्खु कारागारमा कैद भुक्तानका क्रममा चिनजान भएका एक भारतीय नागरिक रहेको खुलेको छ। ती भारतीय नागरिक जेनजी आन्दोलन हुँदा २०८२ भदौ २४ गतेदेखि कारागारबाट फरार छन् ।
फरार भारतीयले सिरहा, धनुषा र विराटनगरका व्यक्तिहरूमार्फत काठमाडौँमा लागुऔषध आपूर्ति गर्ने र भण्डारीले काठमाडौँमा बसेर यसको बिक्री वितरण गर्ने गरेको अनुसन्धानबाट देखिएको प्रहरी उपरीक्षक रेग्मीले बताए । पक्राउ परेका तीनै जनाविरुद्ध लागुऔषध नियन्त्रण ऐनअनुसार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com