info@nawayug.com

डिसेम्बरमा उत्कर्षतर्फ एल निनो, मौसममा पर्नेछ असर

काठमाडौँ । प्रशान्त महासागरको समुद्री सतहको तापक्रम असामान्य रूपमा बढेसँगै एल निनो तीव्र बन्दै गएको र आगामी डिसेम्बरमा उत्कर्षमा पुग्ने संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) ले जनाएको छ । यस पटकको एल निनो सन् १९५० यताकै सबैभन्दा शक्तिशालीमध्ये एक हुनसक्ने चेतावनी दिइएको छ।

डब्लुएमओका प्रमुख सेलेस्ट साउलोले एल निनो ‘दृढ रूपमा स्थापित र तीव्र गतिमा सुदृढ भइरहेको’ बताए। उनका अनुसार यो अवस्था सन् २०२७ को फेब्रुअरीसम्म कायम रहने सम्भावना झण्डै शतप्रतिशत छ ।

डब्लुएमओका अनुसार मध्य तथा पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरमा समुद्री सतहको तापक्रम जुनमा औसतभन्दा १.६ डिग्री सेल्सियस बढी रहेकामा अगस्टमा २.५ डिग्री सेल्सियस पुगेको थियो । अक्टोबर–नोभेम्बर–डिसेम्बरमा यो असामान्यता करिब ३.७ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ र यो सन् २०१५–२०१६ मा कायम २.६ डिग्री सेल्सियसको अघिल्लो कीर्तिमानभन्दा बढी हो ।

एल निनोका कारण पृथ्वीमा नयाँ ताप थपिने नभई समुद्रमा सञ्चित ताप बाहिर आउने साउलोले बताउनुभयो । हालको समुद्र आफूहरूले मापन गरेयताकै सबैभन्दा तातो रहेकाले बाहिर निस्कन थप ताप उपलब्ध रहेको उनले उल्लेख गरे।

एल निनोले विश्वका धेरै भागमा औसतभन्दा बढी तापक्रम तथा वर्षाको ढाँचामा परिवर्तन ल्याउने भएकाले खडेरी र बाढीको जोखिम बढ्न सक्छ । यसले अर्थतन्त्र, पारिस्थितिक प्रणाली र समुदायमा समेत असर पार्ने डब्लुएमओले जनाएको छ।

सामान्यतया प्रत्येक दुईदेखि सात वर्षमा देखिने एल निनो करिब नौदेखि १२ महिनासम्म रहन्छ। यसअघिको एल निनोले सन् २०२३ र २०२४ लाई अभिलेखकै अत्यधिक तातो वर्ष बनाउन योगदान गरेको थियो।

हालको एल निनोले मध्य अमेरिकालगायत केही क्षेत्रमा प्रभाव देखाउन थालिसकेको छ। त्यहाँ खडेरीका कारण जनावर र बाली नष्ट भइरहेका छन्।

रासस

प्रतिक्रिया