info@nawayug.com

टेकु अस्पतालको इमर्जेन्सीमा तोडफोड र हातपात, ३ जना पक्राउ

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक कक्षमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि अभद्र व्यवहार तथा हातपात गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–४ का ४१ वर्षीय रामकुमार बुढाथोकी, २३ वर्षीय आयुष बुढाथोकी र २७ वर्षीय सचिन बुढाथोकी रहेका छन्।

प्रहरीका अनुसार असोज १४ गते राति करिब १ बजे उनीहरू अस्पतालको आकस्मिक कक्षमा पुगेका थिए। त्यसक्रममा ड्युटीमा रहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई गालीगलौज गर्नुका साथै धाकधम्की र हातपात गरेको आरोप छ।

घटनाको सीसीटीभी फुटेजसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। घटनाबारे जानकारी पाएपछि प्रहरी वृत्त कालीमाटीको टोलीले अस्पताल परिसरबाटै तीनै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

उनीहरूमाथि ‘अभद्र व्यवहार गर्न नहुने’ कसूरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया