info@nawayug.com

टिपर दुर्घटनामा एकजनाको मृत्यु, विद्युतीय गाडीमा सवार पाँच घाइते

सिरहा । सिरहाको कर्जन्हामा शुक्रबार यात्रुवाहक विद्युतीय गाडीलाई विपरीत दिशाबाट आइरहेको टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत कर्जन्हा नगरपालिका–४ भुल्केमा पूर्वबाट पश्चिमतर्फ गइरहेको म.प्र.०१–००१ ज. ०१२४ नम्बरको विद्युतीय (ईभी) गाडीलाई विपरीत दिशाबाट आइरहेको म.प्र.०३–००२ ख. ३९९६ नम्बरको टिपरले ठक्कर दिएको हो ।

दुर्घटनामा गम्भीर घाइते गोलबजार नगरपालिका–४ की करिब ४५ वर्षीया शोभा कुमारी यादवको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । टाउको र अनुहारमा चोट लागेर गम्भीर अवस्थामा रहेकी उनको कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेशबहादुर पालले जानकारी दिए ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको छ ।

घाइतेमध्ये गम्भीर अवस्थामा रहेकी २२ वर्षीया प्रियंका यादवलाई थप उपचारका लागि  हेलिकोप्टरमार्फत मेडिसिटी अस्पताल काठमाडौं लगिएको छ । अर्की घाइते गोलबजार–६ का  ४५ वर्षीया ललिता महतोलाई थप उपचारका लागि विराटनगर लगिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ईभी चालक धनगढीमाई–२ का ३५ वर्षीय मन्जुर खान, गोलबजार–४ का संगीता मण्डल र  फुलकुमारी यादवको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनीहरूको फूलकुमारी महतो मेमोरियल अस्पतालमै उपचार भइरहेको छ ।

उनीहरू सबैजना जितिया पर्वका व्रतालु थिए । आज नुहाएर खाने दिन भएकाले कमला नदीमा नुहाउन गएको पारिवारिक स्रोतले जनाएको छ । ठक्कर दिने टिपरका चालक र टिपर प्रहरी नियन्त्रणमा छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया