बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले केन्द्रीय महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । सभापति पुनले आफू महामन्त्रीको उम्मेदवार बन्ने तयारीमा रहेको र त्यसका लागि पार्टीका नेताहरूसँग छलफल तथा समन्वय भइरहेको बताएका छन् ।
‘एक तहका नेताहरूसँग छलफल र समन्वय भइरहेको छ । महामन्त्रीको तयारी भइरहेको छ । अब केही दिनमा औपचारिक कार्यक्रम गरेर उम्मेदवारी घोषणा हुन्छ,’ पुनले भने ।
उनका अनुसार अहिले जिल्ला–जिल्लामा महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया चलिरहेको छ । प्रतिनिधि छनोट सकिएपछि नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिको पूर्ण बैठकबाट आफूलाई केन्द्रीय महामन्त्रीमा अघि बढाउने विषयमा निर्णय गर्ने तयारी छ ।
पुन पूर्व सङ्घीय राज्यमन्त्री समेत हुन् । यसअघि भैरहवामा भएको कांग्रेसको प्रदेश अधिवेशनमा भरत शाहलाई पराजित गर्दै उनी लुम्बिनी प्रदेश सभापतिमा निर्वाचित भएका थिए ।
पछिल्लो समय कांग्रेस सभापति गगन थापाको नेतृत्वमा विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा पुनले सार्वजनिक रूपमा आवाज उठाउँदै आएका छन् ।
कांग्रेसका नेताहरूका अनुसार पुन पार्टी नेतृत्वसँग समन्वय गर्न सक्ने तथा कार्यकर्तासँग सम्बन्ध स्थापित गर्न सक्ने नेताका रूपमा चिनिन्छन् । लुम्बिनी प्रदेशमा मात्र नभई देशभरका कांग्रेस कार्यकर्तासँग समेत उनको सम्बन्ध रहेको नेताहरूको दाबी छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com