info@nawayug.com

खतराको तह नजिक नारायणीको बहाव, गण्डक ब्यारेजका सबै ढोका खुला

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) हुँदै बग्ने नारायणी नदीमा आएको बाढी खतराको तह नजिक पुगेको छ । नारायणी नदीको देवघाटस्थित जलमापन केन्द्रका अनुसार आज दिउँसो ३ः०० बजे नदीमा पानीको सतह ८ दशमलव ९८ मिटर पुगेको छ ।

बाढीले देवघाटस्थित जलमापन केन्द्रमा पानीको सतह नौ मिटर पुगेपछि खतराको तह मानिन्छ । केन्द्रका अनुसार देवघाटमा पानीको सतह निरन्तर बढ्दो क्रममा रहेको छ । नदीमा ७ दशमलव ३ मिटर पानीको सतह पुग्दा चेतावनीको तह मानिन्छ ।

नदीले शुक्रबार राति नै चेतावनीको तह पार गरेको केन्द्रले जनाएको छ । नदीमा पानीको बहाब बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले जानकारी दिए ।

“बाढीको जोखिममा रहेका मानिसलाई सुरक्षित स्थानमा सार्ने, नदी किनारमा नजान माइकिङ गर्नेलगायत कामहरू भइरहेका छन्”, उनले भने, “जिल्लाको गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिका नारायणी नदीको बाढीको जोखिममा रहेका पालिका हुन् ।”

त्यस्तै, बौदिकाली र बुलिङटार गाउँपालिका कालीगण्डकी नदीको बाढी तथा पहिराको जोखिममा रहेका भन्दै प्रजिअ उपाध्यायले प्रभावितलाई सुरक्षित स्थानमा राख्ने काम भएको बताउनुभयो । बाढी र पहिराबाट प्रभावितको उद्धार तथा राहतका लागि जिल्लाका सुरक्षा नियकायलाई ‘हाई अलर्ट’मा राखिएको उपाध्यायले जानकारी दिए ।

“हामीले जिल्लामा विपद्का घटनाबाट हुने क्षति न्यूनीकरणका सबै प्रयास गरेका छौँ”, उनले भने, “विपद् आइहालेमा उद्धार र राहतका लागि सुरक्षा निकायलाई सतर्क अवस्थामा राखेका छौँ ।”

नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा निर्माण गरिएको गण्डक ब्यारेजका सबै ढोका खुला गरिएको छ । नारायणी नदीमा पानीको बहाव चेतवानीको तह पार गरेपछि ब्यारेजका ३६ वटै ढोका खुला गरिएको हो । इलाका प्रहरी कार्यालय त्रिवेणीका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक सुरेश पालले गण्डक ब्यारेज वाल्मीकि नगरलाई उदृत गर्दै दिएको जानकारीअनुसार हाल ब्यारेजमा पानीको सतह तीन लाख ४०० क्युसेक पुगेको छ ।

ब्यारेजमा पानीको सतह तीन लाख क्युसेक पुगेपछि चेतावनीको तह मानिने पालले बताए । नारायणी नदीमा पानीको बहाब बढेपछि शुक्रबार रातिदेखि नै गण्डक ब्यारेजका सबै ढोका खुला गरिएको पालले जानकारी दिए । नदीमा बाढी आएसँगै नदीबाट निकालिएको नेपाल र भारततर्फको दुवै नहरमा पानी पूर्णरूपमा बन्द गरिएको पालको भनाइ छ ।

ब्यारेजमा पानीको सहत बढ्दै गरेको उल्लेख गर्दै पालले ब्यारेजको माथिल्लो पानीको सतह ३५९.२ फिट तथा तल्लो पानीको सतह ३५७.६ फिट पुगेको जानकारी दिए । ब्यारेजमा पानीको बहाब बढ्न थालेपछि सुस्ताको जमिन डुबानमा परेको भन्दै पालले बाढी प्रभावितलाई सुरक्षित स्थानमा लैजाने काम गरिएको जानकारी दिए ।

प्रतिक्रिया