काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । महाधिवेशनका ७ हजार ११४ प्रतिनिधिले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन् ।
निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण तथा मनोनयन दर्ताको प्रक्रिया अघि बढाएको छ । निर्वाचन समितिका सदस्यसचिव राजु कटवालका अनुसार बिहान १० बजेदेखि उम्मेदवारलाई मनोनयन दर्ता फारम वितरण गरिएको छ ।
महाधिवेशन प्रतिनिधिहरूको नामावली राष्ट्रिय सभागृहको भित्री पर्खालमा टाँसिएको छ । उम्मेदवारी दिन इच्छुकले सभागृह परिसरमै प्रभु बैंकका कर्मचारीलाई तोकिएको रकम बुझाएर रसिद लिएपछि मनोनयन दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ ।
निर्वाचन समितिका अनुसार दिउँसो १२ः३० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ ।
यसपटक कांग्रेसले केन्द्रीय कार्यसमितिको आकार १६७ बाट बढाएर २९७ सदस्यीय बनाएको छ । सोमबार पारित संशोधित विधानअनुसार पदाधिकारीको संख्या पनि १४ बाट बढाएर २६ पुर्याइएको छ ।
नयाँ व्यवस्थाअनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपिएका छन् भने उपसभापतिको संख्या चार पुगेको छ । महामन्त्रीको संख्या तीन पुर्याउँदै एक महिला महामन्त्री अनिवार्य गरिएको छ ।
त्यस्तै, दुई खुला सहमहामन्त्री थपिएसँगै सहमहामन्त्रीको संख्या ११ पुगेको छ । पार्टीले प्रवक्ता पद पनि थप गरेको छ भने आवश्यकताअनुसार सहप्रवक्ताको संख्या थप गर्न सकिने व्यवस्था गरेको छ ।
यसअघि १४औँ महाधिवेशनबाट कांग्रेसको केन्द्रीय कार्यसमिति १६७ सदस्यीय र पदाधिकारी संख्या १४ रहेको थियो । प्रतिनिधिको संख्या तथा समावेशी सहभागिता बढेसँगै यसपटक केन्द्रीय कार्यसमिति र पदाधिकारीको संख्या विस्तार गरिएको कांग्रेसले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com