info@nawayug.com

दसैँलाई लक्षित गर्दै मुख्य सडक खुलाउन तीव्रता

काठमाडौं । बाढीपहिरोका कारण अवरुद्ध मुख्य राजमार्ग तथा सडक मर्मतलाई तीव्रता दिँदै सरकारले दसैँअघि नै सडक सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार प्राकृतिक विपद्बाट क्षतिग्रस्त सडक तथा राजमार्गको मर्मत र पुनःनिर्माणको काम तीव्र गतिमा भइरहेको छ ।

उनका अनुसार भोटेकोशी बाढी प्रभावित रसुवासहित नुवाकोट, धादिङ, चितवन र गोरखाका सडकमा मर्मतको काम अघि बढाइएको छ । आगामी चार–पाँच दिनभित्र रसुवाको धुन्चेसम्म यातायात सञ्चालनमा ल्याउने तयारी रहेको उनले बताए ।

मुस्ताङतर्फको सडकसमेत चाँडै सञ्चालनमा आउने विभागले जनाएको छ । सडकमा केही असहजता रहे पनि दसैँका बेला उपत्यकाबाट घर जाने यात्रु तथा खाद्यान्न र अत्यावश्यक सामग्रीको ढुवानी पूर्ण रूपमा प्रभावित नहुने विभागको दाबी छ ।

नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार भदौ १० गतेको भोटेकोशी बाढीपछि बागमती प्रदेशको रसुवामा मुख्य राजमार्गहरू अवरुद्ध छन् ।

गण्डकी प्रदेशको म्याग्दीमा रघुगङ्गा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडकखण्ड असोज १० गतेको पहिरोपछि पूर्ण रूपमा अवरुद्ध छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बौदीकाली गाउँपालिका–३ जन्ती पहिरो क्षेत्रमा असोज १४ गतेदेखि प्रभावित कालीगण्डकी करिडोर भने हाल एकतर्फी सञ्चालनमा आएको छ । उक्त सडकमा ठूला सवारीसाधन भने सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ ।

त्यस्तै, असोज १८ गतेको बाढीबाट प्रभावित मनाङको बेँसीसहर–खाङ्सार सडकखण्ड पनि अहिले एकतर्फी सञ्चालनमा आएको छ ।

अवरुद्ध अन्य सडकलाई समेत छिटो पूर्ण रूपमा सञ्चालनमा ल्याउन सम्बन्धित निकायबीच समन्वय गरी काम भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया