info@nawayug.com

नवजात शिशुलाई ट्वाइलेटमा फालेर फरार महिला प्रहरीको नियन्त्रणमा

कास्की । पोखराको लेकसाइडमा सालनालसहितको नवजात शिशु फालेर फरार भएकी एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। 

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाइडस्थित स्ट्रिट नम्बर ८ को भित्री गल्लीमा रहेको टिनले छाएको टहराको ट्वाइलेट जाम भएर पानी बाहिर ननिस्किएपछि घरधनीले ट्वाइलेट बाहिरको च्याम्बर खोलेर हेर्दा भर्खरै जन्मेको पुरुष नवजात शिशु मृत अवस्थामा फेला परेको थियो। 

गत कात्तिक ३ गते बेलुका अन्दाजी ७:४० बजे खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान तथा मुचुल्का गरी शिशुको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएको थियो। 

प्रारम्भिक अनुसन्धानका क्रममा पोखरा महानगरपालिका वडा नम्बर २१ कृस्ती माइतीघर भई स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नम्बर १ स्थायी ठेगाना भएकी र हाल लेकसाइडमा भाडामा बस्दै आएकी १९ वर्षीया निरूता नेपाली फरार रहेको खुलेको थियो। खोजतलास गर्ने क्रममा प्रहरीले कात्तिक ४ गते राति १:१५ बजे उनलाई पोखरा–२१ लुकुन्स्वाराबाट पक्राउ गरेको हो। 

चिकित्सकद्वारा स्वास्थ्य परीक्षण गराइएकी ती महिलाको सन् २०७८ मा स्याङ्जाका राजन सार्कीसँग सामाजिक परम्पराअनुसार विवाह भएको खुलेको छ। पक्राउ परेकी नेपालीविरुद्ध कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी कसूरमा १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। 

प्रतिक्रिया