चितवन । चितवनमा सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा तीन महिनादेखि बन्द हुँदा चितवनसहित आसपासका जिल्लाबाट सेवा लिन आउने सेवाग्राही समस्यामा परेका छन् ।
सर्वोच्च अदालतको आदेशपछि गत साउन १० गतेदेखि परीक्षा रोकिँदा नयाँ लाइसेन्स लिन चाहने र पुनःपरीक्षा (रि–ट्रायल) दिनुपर्ने सेवाग्राही प्रभावित भएका हुन् ।
यातायात व्यवस्था कार्यालय भरतपुरका सूचना अधिकारी गोविन्द पौडेलका अनुसार अदालतले यहाँस्थित एक निजी ट्रायल सेन्टरमा हुँदै आएको सेवा रोक्न आदेश दिएपछि लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन हुन सकेको छैन ।
परीक्षा बन्द हुँदा रि–ट्रायल दिनुपर्ने करिब ८०० जनाको परीक्षा रोकिएको छ । त्यस्तै, साप्ताहिक रूपमा रि–ट्रायल दिने र नियमित परीक्षा दिने गरी करिब दुई हजार सेवाग्राही प्रभावित भएको पौडेलले जानकारी दिए ।
उक्त ट्रायल सेन्टरमा गरिएको ठेक्का रद्द गरी पुनः ठेक्का प्रक्रिया अघि बढाउन अदालतले आदेश दिएपछि परीक्षा रोकिएको हो । तर, सम्बन्धित मन्त्रालयबाट आवश्यक निर्देशन नआएकाले नयाँ बोलपत्र आह्वान गर्न नसकिएको कार्यालयले जनाएको छ ।
“मन्त्रालयबाट कुनै परिपत्र नआएका कारण सवारी चालक अनुमतिपत्रको काम गर्न सकिएको छैन,” सूचना अधिकारी पौडेलले भने ।
परीक्षा सञ्चालन नहुँदा सेवाग्राहीले लामो समयदेखि प्रतीक्षा गर्नुपरेको छ । विशेषगरी सवारी चालक अनुमतिपत्र लिन चाहने नयाँ परीक्षार्थी र पहिलो प्रयासमा सफल हुन नसकेका सेवाग्राही बढी प्रभावित भएका छन् ।
हाल कार्यालयले सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालनबाहेक सवारी धनी प्रमाणपत्र, रुट परमिटलगायत अन्य सेवा भने प्रदान गरिरहेको छ ।
ट्रायल सेन्टर सञ्चालनमा रहेका बेला एकपटकमा करिब ४०० जना नयाँ तथा पुराना सेवाग्राहीले लिखित र प्रयोगात्मक परीक्षा दिने गरेका थिए ।
परीक्षा पुनः सञ्चालनका लागि मन्त्रालयबाट निर्देशन र ठेक्का प्रक्रिया अघि बढ्नुपर्ने देखिएको छ । तर, परीक्षा कहिलेदेखि सञ्चालन हुन्छ भन्नेबारे अझै टुङ्गो लागेको छैन ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com