info@nawayug.com

नारायणी नदी बढेपछि किनारमा प्रहरीको माइकिङ, सतर्क रहन अनुरोध

चितवन । मुहान क्षेत्रमा भइरहेको अत्यधिक वर्षाका कारण नारायणी नदीको जलसतहले सतर्कताको तह पार गरिसकेको छ ।

चितवन र आसपासका क्षेत्रमा पानी परेको छैन । तर, नारायणी नदीको मुहान क्षेत्र (माथिल्लो तटीय क्षेत्र)मा लगातार भइरहेका वर्षाका कारण नदीको बहाव एक्कासि बढेको छ ।

जिल्ला प्रशासन कार्यालय चितवन र सुरक्षा निकायले सतर्कता अपनाउन आग्रह गरेका छन् । बाढी पूर्वानुमान महाशाखाले पनि नारायणीमा बाढीको सम्भावना रहेको अनुमान गरेको छ । साउन २३ गतेसम्म सतह बढ्ने अनुमान छ ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै वडा प्रहरी कार्यालय नारायणगढ र जिल्ला प्रहरी कार्यालय चितवनका सुरक्षाकर्मी बिहानैदेखि तटीय क्षेत्रमा परिचालित छन् । प्रहरीले सर्वसाधारणलाई नदी किनारमा नजान र सुरक्षित स्थानमा सर्न माइकिङमार्फत आग्रह गरिरहेको छ ।

नदी किनारमा व्यवसाय सञ्चालन गरिरहेका ठेला र अन्य व्यापारीलाई पनि सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

नदीको सतह झनै बढ्ने अनुमान रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्क रहन अनुरोध गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले सुरक्षा सतर्कताका सबै उपाय अपनाउन र प्रहरीको निर्देशन पालना गर्न सर्वसाधारणमा अनुरोध गरेको छ ।

प्रतिक्रिया