नुवाकोट । रसुवा र नुवाकोटका बाढी प्रभावित नागरिकलाई पुनःस्थापना गर्ने उद्देश्यले आजदेखि नुवाकोटको पिपलटारमा अस्थायी टहरा निर्माण कार्य सुरु गरिएको छ।
नेकपा एमालेको संयोजनमा नेसनल भोलेन्टियर फोर्स, जिफन्ट तथा लोकतान्त्रिक आदिवासी जनजाति महासंघको श्रमदानमा पिपलटारस्थित करिब सात रोपनी जग्गामा ५० वटा अस्थायी टहरा निर्माण गर्ने अभियान सुरु भएको हो।
बाढीका कारण घरबारविहीन भएका रसुवाका प्रभावित नागरिकलाई तत्काल सुरक्षित आवासको व्यवस्था गर्ने उद्देश्यले टहरा निर्माण थालिएको आयोजकले जनाएको छ। अभियानमा नेकपा एमालेको भातृ संगठनहरु र स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको छ।
नेसनल भोलेन्टियर फोर्सका प्रमुख कमाण्डर पुष्प श्रेष्ठको नेतृत्वमा फोर्सले विगत एक महिनादेखि बाढी प्रभावित क्षेत्रमा निरन्तर स्वयंसेवी गतिविधि गर्दै आएको छ।
फोर्सले नुवाकोटको बटार क्षेत्रमा विगत एक महिनादेखि बाढी प्रभावित तथा विपन्न नागरिकका लागि निःशुल्क खाना वितरण गर्दै आएको छ।
त्यस्तै, बाढी तथा पहिरोका कारण क्षतिग्रस्त भएका घर तथा संरचनाबाट महत्वपूर्ण सामग्रीहरू निकालेर सम्बन्धित घरधनीलाई जिम्मा लगाउने, भग्नावशेष व्यवस्थापनमा सहयोग गर्ने तथा प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने कार्यसमेत गर्दै आएको फोर्सले जनाएको छ।
नेसनल भोलेन्टियर फोर्सका पदाधिकारी सन्जिब धितालका अनुसार बाढी प्रभावित नागरिकलाई तत्काल राहतसँगै सुरक्षित आवास र पुनःस्थापनाको आवश्यकता रहेकाले अस्थायी टहरा निर्माण अभियान सुरु गरिएको हो।
उनले प्रभावित नागरिकलाई सामान्य जीवनमा फर्काउन स्वयंसेवी श्रम, सहयोग र समन्वयलाई निरन्तरता दिइने बताए।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com