info@nawayug.com

नेप्से प्रणालीमा निजी कम्पनीको नियन्त्रणको आरोप, ‘फ्री एपीआई’ उपलब्ध गराउन माग

काठमाडौँ । स्वतन्त्र लगानीकर्ता अजय श्रेष्ठले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को स्वामित्वमा रहेको नेपाल अनलाइन ट्रेडिङ सिस्टम (एनओटीएस) मा निजी कम्पनीको नियन्त्रण रहेको आरोप लगाएका छन्। 

बुधवार अर्थ समिति बैठकमा बोल्दै उनले ट्रेडिङ प्रणाली निजी कम्पनीको नियन्त्रणमा रहेकोप्रति प्रश्न उठाउँदै पुँजी बजारको प्रविधि विकासका लागि खुला प्रतिस्पर्धा र ‘फ्री एपीआई एक्सेस’ को व्यवस्था गर्न माग गरेका हुन् । 

नेप्सेको स्वामित्वमा रहेको प्रविधि प्रणालीमा निजी कम्पनीको नियन्त्रण हुनु उपयुक्त नभएको बताउँदै उनले नेपालमा पर्याप्त प्रविधि कम्पनी, डेभलपर र दक्ष जनशक्ति रहेकाले उनीहरूलाई पुँजी बजारको प्रविधि विकासमा सहभागी हुने अवसर दिनुपर्नेमा जोड दिए। 

डाटामा रहेको पहुँच र एपीआई एक्सेसलाई सीमित गर्दा प्रविधिको विकासमा अवरोध पुग्ने उनको भनाइ छ। पुँजी बजारको डाटामा एकाधिकार कायम हुन नहुने र धितोपत्र बोर्ड (सेबोन) ले यस विषयमा अध्ययन गर्नुपर्ने उनले बताए। एपीआईमा सहज पहुँच उपलब्ध गराएर धेरै प्रविधि कम्पनीलाई प्रतिस्पर्धा गर्न दिने हो भने नेपाली पुँजी बजारको प्रविधि पूर्वाधार थप विकसित हुनसक्ने उनले उल्लेख गरे। 

श्रेष्ठले ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) सञ्चालन गर्ने कम्पनीहरूको स्वामित्व संरचनामाथि समेत प्रश्न उठाएका छन्। टीएमएस सञ्चालन गर्ने कम्पनीका सेयरधनी नै स्टक ब्रोकरसम्बद्ध रहेको अवस्थामा स्वार्थको द्वन्द्व उत्पन्न हुनसक्ने भन्दै उनले त्यसको नियमन तथा स्वामित्व परीक्षण गर्नुपर्ने बताए।

आफैँ सेयरधनी र आफैँ उपभोक्ता हुँदा प्रविधिको विकास हुन नसक्ने भएकाले टीएमएसमा खुला प्रतिस्पर्धाको वातावरण आवश्यक रहेको उनको ठहर छ। टीएमएस कम्पनीको स्वामित्व संरचना जाँच गरी सम्भावित स्वार्थको द्वन्द्व व्यवस्थापन गर्न उनले सेबोनलाई आग्रह गरे। उनले नेप्सेले आफ्नै सहायक कम्पनीमार्फत प्रविधि विकास गर्न सक्ने विकल्पसमेत अघि सारेका छन्। 

बैठकमा बोल्दै श्रेष्ठले भने, ‘नेपाल अनलाइन ट्रेडिङ सिस्टम (एनओटीएस) नेप्सेको स्वामित्वमा छ भने निजी कम्पनीले किन त्यसलाई नियन्त्रण गर्छरु अहिले नेपालमा प्रविधिका धेरै कम्पनी, युवा जनशक्ति र डेभलपरहरू छन्, जसले स्टक मार्केटको सिस्टम बनाउन चाहन्छन्। त्यसैले एपीआईको पहुँच किन प्रतिबन्धित छ र डाटामा किन एकाधिकार छरु यस विषयमा सेबोनले ध्यान दिनुपर्छ। टीएमएस सञ्चालन गर्ने दुईवटा कम्पनीका सेयरधनीहरूमा स्टक ब्रोकरहरू पनि छन्, जसले ठूलो स्वार्थको द्वन्द्व सिर्जना गर्छ। टीएमएस कम्पनीहरूको स्वामित्व संरचना जाँच गरिनुपर्छ र त्यहाँ हुने स्वार्थको द्वन्द्व व्यवस्थापन गरिनुपर्छ। १०० वटा कम्पनीलाई निःशुल्क एपीआईदेखि प्रविधिको प्लेटफर्मसम्म पहुँच दिने हो भने प्रविधि विकास अर्को स्तरमा पुग्न सक्छ।’

उद्यमीको मेहनत र व्यवसाय निर्माणमा योगदानको मूल्यलाई ‘स्वेट इक्विटी भ्यालु’ का रूपमा समेत हेर्नुपर्ने उनले बताए। उद्यमशीलताको विकासबिना उद्योग तथा रोजगारी सिर्जना कठिन हुने भन्दै श्रेष्ठले पुँजी बजारमार्फत पुँजी सङ्कलन गरी मुलुकको पुँजी निर्माणमा योगदान पुर्‍याउने वातावरण बनाउनुपर्नेमा जोड दिए। 

प्रतिक्रिया